राजनीति

सरकारविरुद्ध पाँच विद्यार्थी संगठनद्वारा दोसो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी संगठनहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

अखिल (क्रान्तिकार) को काठमाडौं बागबजार स्थित कार्यालयमा बसेको बैठकले पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको समिक्षा गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।  

अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीका अनुसार २४ असारमा देशव्यापी सिट्ठी जुलुश, २७ असारमा माईतिघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। ‘संयुक्त विद्यार्थी संगठनले संसद विघटन, केपी ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा सञ्चालन भएको पहिलो चरणको आन्दोलन सफल भएको समीक्षा गरिएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने कुरामा संयुक्त विद्यार्थी आन्दोलन विश्वस्त रहेको छ’ पाँच विद्यार्थी संगठनले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।  

यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको मण्डलीद्वारा गरिएको अनियमितता, भ्रष्टाचार, निजीकरण र माफियाकरणले प्रतिष्ठान धरासायी हुने अवस्थामा पुगेको निष्कर्ष बैठकको रहेको छ। सीटी स्क्यान, एमआरआइ र महत्त्वपूर्ण ल्याब परीक्षणलाई ध्वस्त बनाइएको छ। प्रतिष्ठानमा देखिएको सबै समस्याको जड उपकुलपति भएको हुनाले निजको बर्खास्तीको माग गर्दै त्यहाँ सञ्चालन भइरहेको आन्दोलनमा पाँच विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएको छ।  

शिक्षक सेवा आयोगले लामो समयसम्म परीक्षा बन्द गरेकोले देशभर हजारौं शिक्षक दरबन्दी खाली भएका कारण पठनपाठनमा गम्भीर असर पुगेको छ भने परीक्षाको तयारीमा रहेका लाखौं उम्मेदवार विद्यार्थी मर्कामा परेकाले शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ।

यसैगरी हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स दिंदा बीमा समितिले विधि र प्रक्रिया मिचेको तथा अरबौं आर्थिक चलखेल गरिएकोले पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रिया तत्काल रोकी दोषीलाई कडा कारवाही गर्न माग गरिएको उपमहासचिव मैनालीले बताए।  

यस्तै चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ। भण्डारी बेपत्ता भएको ९ दिनसम्म गम्भीरतापूर्वक अनुसन्धान नगरिनु जनताको जीवनरक्षा र शान्तिसुरक्षाप्रति सरकार गैरजिम्मेवार र पङ्गु भएको यो घटनाबाट पुष्टि भएको ठहर पाँच विद्यार्थी संगठनले गरेका छन्।  

बैठक पश्चात नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्क्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन्।

प्रकाशित: २२ असार २०७८ १२:३७ मंगलबार

विद्यार्थी संगठन आन्दोलनका कार्यक्रम सार्वजनिक