राजनीति

वडा विभाजनका लागि गाउँसभामा प्रस्ताव पेश

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुईवटा वडा विभाजनका लागि प्रस्ताव पेश भएको छ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बिहीबारको गाउँसभामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा विभाजनका लागि प्रस्ताव पेश भएको हो। बतासेलाई विभाजन गर्नका लागि सोही वडाका वडाध्यक्ष लोकेन्द्र राई र टेम्मा विभाजनका लागि कार्यपालिका सदस्य चन्द्रकला राईले गाउँसभामा प्रस्ताव पेश गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५ र ६ मा भएको व्यवस्था अनुसार बतासेलाई साविकको बतासे–१, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे–५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको छ।

यस्तै, साविकको टेम्मा–३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा–१, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव पेश भएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६२ करोड २८ लाख ३७ हजार ५९० रुपैयाँ बराबरको बजेट ल्याएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।  

वडाको संख्या वा सीमामा हेरफेर गर्न आवश्यक भएमा गाउँसभा वा नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष पठाउनु पर्ने व्यवस्था छ। प्राप्त प्रस्तावलाई नेपाल सरकारले ६ महिनाभित्र प्रस्ताव बमोजिम वडाको संख्या वा सीमाना हेरफेर गर्ने व्यवस्था छ।  

प्रकाशित: ११ असार २०७८ ११:४९ शुक्रबार

वडा विभाजन स्थानीय सरकार सञ्चालन ऐन