राजनीति

राष्ट्रपतिको स्वेच्छाचारीता र प्रधानमन्त्रीको अहंकारले देश संकटमा : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संविधान नै संकटमा रहेको बताएका छन्।

विभिन्न संचार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान प्रधानमन्त्री ओलीकै कारण संकटमा रहेको बताएका हुन्।  

‘उहाँले असंवैधानिक रुपमा दुई–दुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ। अध्यादेशमार्फत् शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्।’ अन्तरक्रियामा उनले भनेका छन्।

यसैगरी उनले प्रधानमन्त्री  अ‍ोलीले राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरु गरी लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको जनाउँदै त्यसविरुद्ध संघर्ष जारी राखेको बताएका छन्।  

उनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको चर्चा गर्दै राष्ट्रपतिले समेत स्वेच्छाचारी काम गरी लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गरेको जनाएका छन्।  

सो कदमविरुद्ध विभिन्न राजनीतिक दलहरुसँग सहकार्य गरी आन्दोलन गरिहेको स्पष्ट पार्दै उनले भने, ‘हामीहरु राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलहरुको संयुक्त मोर्चाका साथ अग्रसर छौं।’

सो आन्दोलनले सरकारबाट भएका कतिपय संविधान र कानून विपरीतका अलोकतान्त्रिक कार्यहरु अदालतको निर्णयबाट रोकिएको जनाउँदै उनले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई साझा गन्तव्यका रुपमा लिएको जनाएका छन्। 

प्रकाशित: १० असार २०७८ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App