राजनीति

आधिकारिकता माग्दै उपेन्द्र यादव निर्वाचन आयोग जाने

निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकताको माग गर्दै पुनः निर्वाचन आयोगमा निवेदन दिने भएको छ। बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले पुनः निर्वाचन आयोगमा जाने निर्णय गरेको हो। आयोगले भने जसपाको दुवै पक्षले एकले अर्कोलाई गरेको निस्कानलाई खारेज गर्दै दुई अध्यक्ष रहेन गरी साविककै पदाधिकारी कायम रहने फैसला सुनाएको थियो। आयोगको उक्त निर्णयबाट आयोगको तटस्थता र निस्पक्षता गम्भीर प्रश्न उठेको यादव पक्षले जनाएको छ।

आयोगको निर्णयविरुद्ध अदालत जाने कि निर्वाचन आयोग जाने भन्ने विषयमा टुंगो लगाउन बिहीबार कार्यकारिणीको बैठक बोलाइएको थियो। अदालत जाँदा प्रक्रिया लामो हुने र फैसला गर्न समय लम्बिने भएकाले एकपटक फेरि आयोगमा जाने सुझाव धेरैजसो कार्यकारिणी समितिका सदस्यहरूले दिएका थिए।

यादव पक्षका कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बिहीबार बोलाइको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको बताए। ‘एउटा पक्षले जथाभावी रूपमा पार्टीको लेटरप्याड दुरुपयोग गरेको छ। त्यसैले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेका हौ,’ यादवले भने। उनका अनुसार कार्यकारिणी समितिको बैठकमा ३० जना कार्यकारिणी समितिका सदस्यहरू उपस्थित थिए। कार्यकारिणी समितिको माइन्युटिङमा ३० जनाको हस्ताक्षर रहेको यादवले बताए। बैठकले पार्टीको ह्विप उल्लंघन गरेकोमा लुम्बिनी प्रदेशका जसपाका ४ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको पनि यादवले जनाए। बैठकले चुरे दोहन गर्ने सरकारी निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।  

यादव पक्षबाट निस्काषित गरिएका भनिएका कार्यकारिणी समितिका सदस्यहरूलाई भने यादव पक्षले बैठकमा बोलाएको थिएन। यता, यादव पक्षले बिहीबार बोलाएको कार्यकारिणी समितिको बैठकमा अवैधानिक भएको महन्थ ठाकुर पक्षले जनाएको छ। बिहीबार पार्टीको कुनै बैठक नबोलाइएको दाबी गर्दे ठाकुरले निर्वाचन आयोगमा चिठीसमेत लेखेका छन्। ठाकुरले आफूनिकट १७ जना कार्यकारिणी समितिका सदस्यहरू नियुक्ति गरी आयोगमा जानकारी गराएका छन्। जसपा अहिले दुई चिरामा बाँडिएको छ। जसपाको दुवै पक्षले एकले अर्कोलाइ पार्टीबाट निकाला गरेको घोषणा गरेका छन्।

प्रकाशित: ४ असार २०७८ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App