राजनीति

मेलम्चीमा विपद् व्यवस्थापन समिति गठन, प्रभावकारी काम गर्न सभामुख सापकोटाको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेका छन्। हिजो साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसँग जानकारी लिएका थिए।

मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताए। उनले उद्दार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे।  

सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्दार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनर्स्थापनाको काम अघि बढाउन सबैमा अपिल गरे।

नगरपालिकामा भएको सर्बपक्षिय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको छ।

प्रकाशित: २ असार २०७८ १३:५४ बुधबार

सभामुख अग्निप्रसाद सापकोटा मेलम्ची