राजनीति

नेपाली भूमि अतिक्रमण स्वीकार्य हुँदैनः गृहमन्त्री अधिकारी

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा गृहमन्त्रीलाई स्वागत गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल। तस्बिर : नागरिक

गृहमन्त्री खगराज अधिकारीले नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन्। त्यसलाई बचाइराख्न कतैबाट पनि नेपालको एक इन्च पनि कसैलाई अतिक्रमण गर्न नदिइने प्रष्ट पारे। गृहमन्त्री भएपछि पहिलो पटक सशस्त्र प्रहरी बल (एपिएफ) प्रधान कार्यालयको निरीक्षणमा पुगेका मन्त्री अधिकारीले नेपाली भूमि अतिक्रमण अस्वीकार्य रहेको बताएका छन्।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई सशक्त र साधनस्रोत सम्पन्न बनाइने उनले स्पष्ट पारे। सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको उपस्थिति मजबुद पारिएको र यसलाई अझ सशक्त बनाउने उनको भनाइ थियो। ‘सदियौंदेखी सार्वभौम र सगरमाथाको देशका साथै कसैको पनि उपनिवेश नभएको नेपाललाई कसैको एक इन्च पनि जमिन चाहिँदैन र हामी पनि आफ्नो भूमि अतिक्रमण स्वीकार्दैनौं’ गृहमन्त्री अधिकारीले भने।

उनले सीमा सुरक्षा एवं कोभिड–१९ व्यवस्थापनका क्रममा सीमाबाट हुने आवागमन नियन्त्रण तथा नियमनमा सशस्त्र प्रहरीको योगदान उच्च रहेको भन्दै प्रसंशा समेत गरे बताए। गृहमन्त्री अधिकारीले आफू शासक नभई साथी रहेको भन्दै उच्च मनोवलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए। ‘म शासक होइन, तपाईंहरू सबैको साथी हो, बिसम परिस्थितिमा सशस्त्र प्रहरीले निभाएको भूमिका प्रशंसनीय छ,’ उनले भने।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा सरकारको उच्च प्राथमिकतामा परेको र त्यसलाई सार्थकता दिनकै लागि सशस्त्रलाई ताप्लेजुङको ओलाङचुङगोला देखि दार्चुलाको छाङरु तथा नवलपरासीको सुस्तादेखि कञ्चनपुरको ब्रम्हदेवसम्म सशस्त्रका गणरगुल्म तथा बिओपी विस्तार गरिएको बताए। साथै उनले संगठनमा शून्य सहनशीलताको नीति अपनाउँदै तोकिएका जिम्मेवारी सोही अनुसार सम्पादन गरिएको बताए।

निर्वाचन तयारीमा जुट्न निर्देशन

गृहमन्त्री अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको पनि निरीक्षण गरेका छन्। त्यस क्रममा उनले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिए। शनिबार निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अधिकारीले प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए।

कोभिड–१९ संक्रमणको विषम परिस्थितिमा अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउधनको सुरक्षामा अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।  

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताए। उनले आगामी दिनमा नेपाल प्रहरी थप व्यावसायिक र ऊर्जावान हुने विश्वास दिलाए। प्रहरी महानिरीक्षक थापाले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको बताउँदै मध्यावधि निर्वाचनको तयारीमा नेपाल प्रहरी कटिबद्ध रहेको बताए।

प्रकाशित: ३० जेष्ठ २०७८ ०३:५६ आइतबार

नेपाली भूमि अतिक्रमण गृहमन्त्री खगराज अधिकारी