राजनीति

गृहमन्त्रीद्वारा सशस्त्र प्रहरीलाई १२ वुँदे निर्देशन

गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन्। सो अवसरमा उनले सशस्त्र प्रहरी बललाई १२ वुँदे निर्देशन दिएका छन्।

निरीक्षणको क्रममा उनले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, कोभिड–१९ महामारीमा नेपाल एपीएफ अस्पतालले पुर्याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिशनहरुमा सशस्त्र प्रहरी बलको परिचालन, मानवअधिकारको संरक्षण र संबर्धन लगायतका विषयमा जानकारी लिँदै सो विषयमा निर्देशन दिएका थिए।

कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिइएको सेवा तथा सुविधा अब्बल रहेको भन्दै उनले भूकम्पजस्ता महामारीमा साधन श्रोतको अभावकाबीच संगठनले गरेको कार्यको प्रशंसा गरे।

गृहमन्त्री अधिकारीले सदियौदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमताको प्रशंसा गरे।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बलका एकाई प्रमुखहरु तथा सशस्त्र प्रहरी अधिकृत बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: २९ जेष्ठ २०७८ १२:३० शनिबार

गृहमन्त्री खगराज अधिकारी सशस्त्र प्रहरी बल