राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङले भनेः राजनीतिलाई सत्ताको खुड्किलो मात्र नबनाऔं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत माग्दै सुखी नागरिकको लक्ष्य पुरा गर्नका लागि आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

 मुख्यमन्त्री गुरुङले राजनीतिलाई सत्ताको खुड्किलो मात्र बनाउन नहुने भन्दै उनले केन्द्रमा देखिएको राजनीतिको किचलोको प्रभाव प्रदेशमा देखाउन नहुने बताए । यसले अस्थिरता मात्र आउने भन्दै मिलेर जान उनले प्रस्ताव गरे । ‘केन्द्रमा देखिएको अस्थिर राजनीतिको प्रभाव प्रदेशमा पनि देखिएको जगजाहेरै छ, तर यहाँ मिलेर जान सकिन्छ त्यसका लागि म आग्रह गर्छु,’ उनले भने ।  

मुख्यमन्त्री गुरुङले समृद्ध नेपाल, सुखी नागरिकको चाहना, ईच्छा र आकांक्षा पूरा गर्न अल्पकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर काम गरिरहेको उल्लेख गरे । उनले यी योजनाहरु कार्यान्वयनका लागि पनि आफ्नो आवश्यकता रहेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरे ।  

मुख्यमन्त्री गुरुङले पछिल्लो ३ वर्षमा नीजि क्षेत्रको लगानी उत्साहजनक रुपमा भएको बताउँदै यस आर्थिक वर्षमा आर्थिक बृद्धिदर ३.६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको बताए । उनले यस आर्थिक वर्षमा ३.४६ प्रतिशतले मुल्य बृद्धि हुने सरकारी प्रक्षेपण रहेको उल्लेख गरे । उनले आफु मुख्यमन्त्री बन्नु भन्दा अगाडि ३ खर्ब ४० अर्बको लगानी हुने गरेकोमा अहिले आएर ३ खर्ब ४४ अर्ब पुगेको र आगामी आर्थिक वर्ष भित्रमा ३ खर्ब ७२ अर्ब पुग्ने प्रक्षेपण गरे । विश्वासको मत लिने प्रस्ताव टेबल भएसँगै अहिले संसदमा सो प्रस्तावमाथि छलफल भइरहेको छ । प्रस्ताव माथि आजै मतदान हुनेछ ।

 गण्डकी प्रदेश ६० प्रदेश सभा सदस्य छन् । सत्तारुढ एमालेका २७, कांग्रेस १५, माओवादी केन्द्र १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टी (जसपा)का २ र स्वतन्त्र एक रहेका छन् । मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७ सांसद मात्र देखिएका छन् । मुख्यमन्त्री गुरुङ सरकारकै एकमन्त्री स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) हाल आएर बिपक्षी गठबन्धनमा पुगेका छन् । एमालेलाई अन्य दलले समर्थन नगरेका कारण विश्वासको मत पाईहाल्ने अवस्था भने छैन ।

बिपक्षी गठबन्धनमा कांग्रेस, माओवादी, जसपा र जनमोर्चा रहेका छन् । यी सबै मिल्दा बहुमत पुग्ने भएपनि जनमोर्चाका कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिएका कारण बिपक्षी गठबन्धनको नेतृत्वमा सरकार बनिहाल्ने अवस्था बनिसकेको छैन । तर स्वतन्त्र सांसद मनाङेले बिपक्षी गठबन्धनमा मत दिएमा मात्र कांग्रेस नेतृत्वमा सरकार बन्नसक्ने देखिएको छ । उसो त एमालेकै माधव नेपाल पक्षीय सांसद ईन्द्रलाल सापकोटाले फ्लोर क्रस गर्नसक्ने अनुमान समेत गरिएको छ । यसरी पनि बिपक्षी गठबन्धनमा बहुमत नपुगेको खण्डमा सभामुखलाई राजिनामा गराएर भएपनि वैकल्पिक सरकार बनाउने बारेमा छलफल भएपनि निर्णय भने भइनसकेको माओवादीका एक सांसदले बताए ।

प्रकाशित: २७ जेष्ठ २०७८ ०७:५० बिहीबार

गण्डकी प्रदेश