राजनीति

प्रधानमन्त्रीओलीद्वारा भर्चुअलरुपमा विद्यालय भवन शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गरेका हुन्।  

दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ११ करोड बजेट उपलब्ध भएको छ। नगरप्रमुख रोमनाथ ओलीका अनुसार बढीमा एक वर्षभित्रमा दुवै विद्यालयमा भवन निर्माण गरिसक्नुपर्नेछ। यसअघि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवनको पनि भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। क्यापसको भवन बनाउन सङ्घीय सरकारले रु १० करोड बजेट उपलब्ध गराएको थियो।  

प्रधानमन्त्रीले दमकका अन्य विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै स्थिति सहज भएपनि दमकमा आउने जानकारी दिए। शिलान्यासका क्रममा ओलीले  जिल्लाकै गौरीगञ्जको स्मार्ट सिटी र दमककै निर्माणाधीन भ्युटावरको प्रगतिका विषयमा चासो राखेका थिए।  

प्रकाशित: २४ जेष्ठ २०७८ १३:१८ सोमबार

प्रधानमन्त्रीओलीद्वारा भर्चुअलरुपमा भवन शिलान्यास