राजनीति

गण्डकी प्रदेशः प्रदेशसभा विघटनको खतरा

गण्डकी प्रदेश सभा विघटनको खतरा बढेर गएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र बिपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेश सभा विघटनको खतरा बढेको हो ।

गण्डकी प्रदेश सरकारले यहि जेठ २७ गते भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । गत वैशाख २९ गते ठुलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ दोश्रो पटक मुख्यमन्त्री बनेका थिए । बिपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि अल्पमतमा परेर राजिनामा दिएका गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले ठुलो दलका हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

विश्वासको मत लिने दिन नजिकिदै जाँदा दुवै पक्ष बहुमत जुटाउन लागिपरेका छन् । मुख्यमन्त्री गुरुङ वर्तमान अल्पमतको सरकारलाई विश्वासको मत लिएर पुरै समय सरकार चलाउन चाहन्छन् । जसका लागि उनले साना दलहरु ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चा र २ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा भिœयाएरु विश्वासको मत आर्जन गर्ने प्रयास गरिरहेका छन् । एमालेका २७ सांसदको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका गुरुङले स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएर २८ सांसद आफ्नो पक्षमा पारिसकेका छन् ।  

दुइ साना दलको समर्थन लिन प्रयास गरेपनि दुबै दल बिपक्षी गठबन्धनमा आबद्ध छन् । यद्दपी मुख्यमन्त्रीले दलको समर्थन नपाउने स्थिति बनेपछि ती दल भित्रका सांसद भित्र खेल्ने कोशिष गरिरहेका छन् । मुख्यमन्त्री गुरुङले २ सांसद रहेको जसपालाई ३ वटा मन्त्रालय दिने तथा राजनीतिक नियुक्तिमा समेत भागवण्डा गर्ने भन्दै जाल फालिरहेका छन् । तर बाबुराम–उपेन्द्र पक्षीय सांसद मात्र भएकाले मुख्यमन्त्रीलाई जसपाले समर्थन गर्ने कुनै गुञ्जायस देखिदैन ।

उसो त मुख्यमन्त्री गुरुङले जनमोर्चा भित्र खेल्ने प्रयास गरिरहेका छन् । उनले जनमोर्चामा विभाजन ल्याएर कृष्ण थापा पक्षको समर्थन लिन खोजिरहेका छन् । यसमा उनी एक हदसम्म सफलपनि देखिएका छन् । तर यत्ति मात्रैले उनलाई विश्वासको मत आर्जन गर्न पर्याप्त हुँदैन । तर मुख्यमन्त्री गुरुङ सके आफु मुख्यमन्त्रीमा रहीरहने नभए प्रदेश सभा विघटन गर्ने प्रयासमा छन् । मुख्यमन्त्री निकट श्रोत भन्छ, ‘उहाँको कुरा प्रष्ट छ । सके आफु नै सत्तामा रहीरहने, होइन भने बिपक्षीलाई बहुमत पुग्न नदिने र प्रदेश सभा विघटन गर्ने ।’

 गण्डकी प्रदेश सरकारका सञ्चार तथा प्रदेशसभा मन्त्री रामशरण बस्नेत गुरुङको तयारीलाई स्वीकार्छन् । ‘यो सरकार ५ वर्षसम्म चल्नु पर्छ भन्नेमा हामी दृढ छौं,’ उनले भने, ‘सरकारले जनताको काम गरिरहेकाले विश्वासको मत दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’ बिपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना नदेखिएको भन्दै उनले भने, ‘बिपक्षी गठबन्धनमा बहुमत पुग्ने भए हामी छाड्थ्यौं, तर त्यस्तो अवस्था अहिले पनि बनेको छैन ।’ मन्त्री बस्नेतले विश्वासको मत पाए प्रदेश सभापनि रहने नभए प्रदेश सभा विघटन हुने पनि बताए । ‘उहाँहरुले विश्वासको मत दिनु भयो भने यो सरकार रहन्छ, दिनु भएन भने उहाँहरुकै कारणले प्रदेश सभा विघटन हुन्छ । संसद विघटन गर्नेतिर माननीय ज्यूहरु लाग्नु हुन्न भन्नेमा छौं हामी,’ उनले भने ।  

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने गुरुङ ओली पथमै अगाडि बढिरहेका छन् । मुख्यमन्त्री गुरुङको प्रयासमा जनमोर्चाका कृष्ण थापाले साथ दिइरहेका छन् । बिपक्षी गठबन्धनको नेतृत्व गर्दै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्न नमानेका जनमोर्चाका सांसद थापालाई जनमोर्चाले कारवाही गर्दै पदबाट हटाएको थियो । उनलाई पदबाट हटाउने निर्णय कार्यान्वयन भएको भए बिपक्षी गठबन्धनमा बहुमत पुग्थ्यो । तर सर्वोच्च अदालतले थापालाई पदमा यथावत राखेर काम गर्न दिन अन्तरिम आदेश दिएपछि फेरि बिपक्षी गठबन्धनलाई झट्का लागेको छ ।  

पुर्नवहाली भए लगत्तै थापाले पार्टी निर्णय विपरित मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिने आशय व्यक्त गरेका छन् । अझ एक कदम अगाडि उनले भनेका छन् ‘अब प्रदेश सभा विघटन गर्ने अवस्था आउन दिनु हुँदैन, यसका लागि साना दलहरुले विवेक पुु¥याएर निर्णय गर्नुपर्छ ।’ उनी पहिलेदेखि नै कांग्रेस नेतृत्वमा सरकार बनाउन नहुने पक्षमा भएकाले मुख्यमन्त्री गुरुङलाई नै विश्वासको मत दिनुपर्ने उनको आशय छ ।

 बिपक्षी गठबन्धनले पनि बहुमत पु¥याउन प्रयास गरिरहेको छ । तर यो गठबन्धनलाई बहुमत पु¥याउन भ्यागुत्ताको धार्नी पु¥याए जस्तै भएको छ । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुख बाहेक) र जसपाका २ गरेर यस गठबन्धनमा २८ सांसद छन् । यसमा जनमोर्चाका २ मिसिदाँ ३० पुग्छ । तर ६० सदस्य रहेको प्रदेश सभामा जनमोर्चाका कृष्ण थापाले पार्टी निर्णय विपरित कांग्रेस नेतृत्वमा सरकार बनाउन मत नदिने बताएका कारण यो गठबन्धनलाई बहुमत जुटाउन सकस परेको हो । बिपक्षी गठबन्धनमा आबद्ध एक सांसद भन्छन्, ‘बहुमत पुग्ने सम्भावना अत्यन्त न्यून छ ।’ बहुमत पुग्दै नपुग्ने भन्ने होईन, उनले अगाडि थपे, ‘तर बहुमत पुग्ने धरातल कमजोर बन्दै गएको छ ।’

 बिपक्षी गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता रामजी बराल मुख्यमन्त्री गुरुङले प्रदेश सभाको हत्या गर्ने षडयन्त्र बुनिरहेको आरोप लगाउँछन् । ‘सके आफै बन्ने, नभए अरुलाई पनि बहुमत पु¥याउन नदिने प्रयासमा मुख्यमन्त्री छन्,’ उनले भने । तैपनि बिपक्षी गठबन्धनले संसद विघटन गर्न नदिनका लागि वैकल्पिक सरकारको प्रयास गरिरहेको उनले बताए ।

प्रकाशित: २४ जेष्ठ २०७८ ११:३६ सोमबार

गण्डकी प्रदेश