राजनीति

गण्डकी प्रदेशः बजेट अधिवेशन सुरु

आईतबारदेखि सुरु भएको गण्डकी प्रदेश सभाको बैठक । तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्न समस्या भएपछि प्रदेश सभा भवन नदीपुरमा नभई पोखरा सभागृहमा आईतबारदेखि सुरु छ ।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रतिनिधिका रुपमा बोल्दै भौतिक पूर्वाधार, सहरी विकास मन्त्री रामशरण बस्नेतले नेपालमा निषेधको राजनीति फेरि पनि देखापरेको बताए । ‘दलहरु फेरिपनि निषेधको राजनीतिमा अगाडि बढ्दैछन्,’उनले भने,‘हिजो राणाबिरुद्धको आन्दोलनमा, पञ्चायतबिरुद्धको आन्दोलन गर्दा निषेधको राजनीति गरियो, अहिले लोकतन्त्र, गणतन्त्र आइसकेपछि पनि निषेधकै राजनीतिमा छौं, यसले लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउन सहयोग गर्दैन ।’  

मुख्यमन्त्रीका प्रतिनिधिका रुपमा रहेका मन्त्री बस्नेतले विपक्षी गठबन्धनमा रहेका दलहरुले भनेझैं बजेटको नीति सिद्धान्तमाथिको छलफल नरोकिने बताए । असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘विश्वासको मत नलिई बजेटको नीति, सिद्धान्तमाथि छलफल नगर्न माग गरेको सुनियो, तर कसैले भन्दैमा छलफल रोकिदैन ।’ छलफल चल्दै जाने बताउँदै उनले थपे, ‘त्यसबीचमा हामीले विश्वासको मत पायौं भने हामी ल्याउँछौं बजेट, होइन तपाईंहरुले बहुमत पुर्‍याउनु भयो भने तपाईंहरु ल्याउनुहोला ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको राजधानी पोखरामा अक्सिजनको अभावमा आठजना कोरोना संक्रमितको मृत्यु भएकोप्रति सरकारले माफी माग्नुपर्ने बताए ।

सरकारको लापरवाहीले उनीहरुको ज्यान गएको भन्दै उनले भने, ‘एकातिर मुख्यमन्त्री अक्सिजनको अभाव छैन भन्ने, अर्कोतिर सुत्केरीसहित ८ जनाको मृत्यु भएको छ । यो घटना समान्य होइन । सरकारले सार्वजनिक माफी माग्नुपर्छ ।’ उनले घटनाको छानविन गर्नका लागि समिति बनाउन समेत माग गरे ।

नेता नेपालीले संघ सरकारले ल्याएको बजेट एमालेको चुनावी घोषणापत्र जस्तो भएको टिप्पणी गरे । नेता नेपालीले विश्वासको मत नदिए प्रदेश सभा विघटन गरेर निर्वाचनमा जान्छु भन्नेजस्ता अभिव्यक्ति मुख्यमन्त्री र जिम्मेवार मन्त्रीहरुबाटै आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए । साथै उनले विश्वासको मत नलिई बजेट नल्याउन सरकारलाई चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयता विरोधी मुद्धामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङपनि लतारिएको आरोप लगाए । चुमानले भने, ‘सरकार बनेको साढे २ वर्ष मुख्यमन्त्रीले संघीयताका लागि लड्नु भो, तर त्यसपछि भने प्रधानमन्त्रीको संघीयता विरोधी मुद्धामा उहाँपनि लत्रिदै लत्रिदै जानु भो ।’  

राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सरकारले सत्ताको सौदाबाजी गरेर नागरिकता विधेयक ल्याएको आरोप लगाईन् । नागरिकता विधेयक तत्काल खारेज गर्न उनले माग गरिन् । ओली सरका सत्ता टिकाउन विभिन्न तिकडममा लागेको बताउँदै उनले भनिन्,‘सत्ता जोगाउन यत्तिको तिकडम गर्नेले जनता जोगाउनका लागिचाहिंँ किन काम नगरेको होला ! ।’ उनले ओली सरकारले जननिर्वाचित संसद विघटन गरेर अध्यादेशबाट देश चलाउन खोजेकोसमेत आरोप लगाईन् ।

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता हरिशरण आचार्यले गणतन्त्र विरोधी केपी ओलीको राष्ट्रवादी मुखुण्डो रअका प्रमुख सामन्तकुमार गोयलसँग त्वम शरणम् गरेपछि उत्रिएको बताए । लोकतन्त्रको हिमायती ठान्ने प्रधानमन्त्री ओलीले संसदको हत्या गरेर अध्यादेशबाट देश चलाउन खोजेको उनको पनि आरोप थियो ।

प्रकाशित: १६ जेष्ठ २०७८ १२:५९ आइतबार

गण्डकी प्रदेश बजेट अधिवेशन