राजनीति

‘ओली प्रधानमन्त्री रहेसम्म प्रहरी प्रदेश मातहत आउँदैन’

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेसम्म प्रहरी प्रदेश सरकार मातहत नआउने ठोकुवा गरेका छन् । प्रदेश प्रहरी ऐन बनाएर चर्चा कमाएका चुमानले आईतबारदेखि शुरु भएको गण्डकी प्रदेश सभाको आठौं अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

आफु सरकारमा रहुन्जेल संघीयताको लागि लडेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीकै कारण प्रदेश मातहत प्रहरी ल्याउन नसकिएको समेत उल्लेख गरे । प्रदेश प्रहरी ऐन बने लगत्तै सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर प्रहरी समायोजन गर्न आग्रह गरेपनि प्रधानमन्त्रीले समायोजन नगरेको बताए । हुँदाहुँदा अहिले त प्रदेशमा गृह मन्त्रालयको रुपमा रहेको आन्तरिक मामिला मन्त्रालय नै गायब बनाइएको भन्दै उनले भने, ‘हालका प्रधानमन्त्री केपी ओली भईञ्जेल प्रदेश मातहत प्रहरी आउँदैन ।’

 नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका चुमानले प्रधानमन्त्री ओली संघीयता विरोधी भएको समेत आरोप लगाए । शुरुमा संघीयताका लागि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लडेपनि अहिले प्रधानमन्त्री नै संघीयता विरोधी मुद्धामा लतारिएको आरोप लगाए । संघीयता कमजोर बनाउन लागिपरेका मुख्यमन्त्री विरुद्ध शुरुमा मुख्यमन्त्री लडेको उल्लेख गर्दै उनले भने, ‘जो हिजो संघीयताको लागि लड्नु भो, अहिले पछिल्लो क्रममा लत्रिदै लत्रिदै जानु भो ।’

प्रकाशित: १६ जेष्ठ २०७८ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App