राजनीति

‘दुर्गा प्रसाईलाई सद्भावको लागि धन्यवाद, तर उहाँको सहयोग आवश्यक पर्दैन’

विवेकशील–साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपाचार लागि सहयोगीहरूले  विवादित व्यवसायी दुर्गा प्रसाईको सहयोग आवश्यक नपर्ने बताएका छन् । थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंलाई सद्भावको लागि धन्यवाद दिँदै उनको सहयोग आवश्यक नपर्ने बताएका हुन् ।  

त्यस्तै उनले  थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च ब्यहोरिरहेको भन्दै भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईंलाई धन्यवाद दिएका हुन्।   

‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ’, मिश्रले भनेका छन् ‘हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ।’  

त्यस्तै थापाको उपचारको लागि हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २ सय ९१ र नेपालमा बैंक खातामा करिब २६ लाख ५० हजार रुपैयाँ जम्मा भएको मिश्रले जानकारी दिए । 

कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको सम्पूर्ण उपचार खर्च आफूले बेहोर्ने भन्दै प्रसाईंले विज्ञप्ति जारी गराएका थिए । 

प्रकाशित: १५ जेष्ठ २०७८ ०८:०७ शनिबार

विवेकशील विवेकशील पार्टी