राजनीति

गण्डकी प्रदेशः वर्षे अधिवेशन जेठ १६ देखि

गण्डकी प्रदेशको वर्षे अधिवेशन आगामि आइतबारदेखि बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन आइतबार बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधारमन्त्री रामशरण बस्नेतले बैठक पोखरा सभागृहमा बस्ने गरि बोलाउन सिफारिस गरेको बताए । यसअघी प्रदेशसभा भवन नदीपुरमा बस्दै आएको प्रदेशसभाको बैठक कोरोना महामारी शुरु हुने बेलाको समयमा पोखरा सभागृहमा बस्दै आएको थियो । तर पछिल्लोपटक प्रदेशसभाको विशेष अधिवेशन प्रदेशसभा भवन नदीपुरमै चलेको थियो ।

वर्षे अधिवेशनमा प्रदेश सरकारले बजेट ल्याउन पर्नेछ भने यहि समयमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनुपर्नेछ । प्रदेश सरकारले असार एकगते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्नेछ । गत वैशाख २९ गते गुरुङ दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  

यसअघि प्रदेश सभाको हिउँदे अधिवेशन चैत २५ गते शुरु भएर बैशाख २ गते अन्त्य भएको थियो । आफुविरुद्ध बिपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्रीले रातारात अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।मन्त्रीपरिषद बैठकले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई प्रदेश सडक सम्बन्धि विधेयक निर्माण गर्न सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए । 

प्रकाशित: ११ जेष्ठ २०७८ १२:०० मंगलबार

गण्डकी प्रदेश वर्षे अधिवेशन