राजनीति

वैकल्पिक माध्यमबाट एसईई परीक्षा गर्ने गृहकार्य भएको छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताएका छन्।  

सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै आज उनले भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्यून रहेकाले एसईई र कक्षा १२ को परीक्षाका विषयमा मन्त्रालयले छलफल गरिरहेको बताए। सङ्गठनका अध्यक्ष ऐन महरसहितको टोलीले कोभिड–१९को विषम अवस्थामा शिक्षा क्षेत्रमा आवश्यक प्रबन्ध गर्न माग गर्दै मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो।  

मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शिक्षाको बजेट बढ्न सक्ने र नयाँनयाँ योजना आउनसक्ने बताए। उनले अबको शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिए। परम्परागत शिक्षा अहिलको आवश्यकता नभएको भन्दै उनले प्रयोगात्मक र प्रविधिययुक्त शिक्षाको आवश्यकता औँल्याए।  

मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयका रोकिएका परीक्षा सुचारु गर्नुपर्ने र अनलाइनमा कक्षा लिएबापत्को शुल्क घटाउनुपर्नेमा जोड दिए। उनले भने, “सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ।”  

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एसईई र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा मन्त्रालयले दुई–तिन दिनभित्र निर्णय गर्ने बताए। अनेरास्ववियुका अध्यक्ष महरले मन्त्रालयले एसईई, कक्षा १२ र विगत तीन वर्षदेखि स्थगित विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट भएपनि सञ्चालन गराउनुपर्ने बताए। उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये झण्डै ८० प्रतिशत इन्टरनेट पहुँच बाहिर रहेको भन्दै सरकारलाई गम्भीर बन्नुपर्ने औँल्याए।

शिक्षा क्षेत्रलाई कसरी सुचारु गर्ने, विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापसँग कसरी अद्यावधिक गराइराख्ने भन्ने विषयमा मन्त्रालयले ध्यान दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्रमा  कक्षा ८ र स्थानीय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्नुपर्ने, सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ।

विद्यालयमा भौतिक रुपमा उपस्थित भइ पठनपाठन हुने अवस्था सिर्जना नहुन्जेलसम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्ने, एक परिवार एक कम्प्युटरको निःशुल्क व्यवस्था गर्नुपर्ने बताइएको छ। अहिलेको अवस्थामा विद्यार्थी तथा शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिलाई कोभिडविरुद्ध खोप लगाउन प्राथमिकता सूचि राख्नुपर्ने माग गरिएको छ।

प्रकाशित: १० जेष्ठ २०७८ १३:१३ सोमबार

वैकल्पिक माध्यम एसईई परीक्षा गर्ने गृहकार्य