राजनीति

यादवको निधनले एमाले स्तब्ध

नेकपा (एमाले) ले केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेको छ। पार्टीका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गर्दै उनको निधनले पार्टी स्तब्ध भएको एक निष्ठावान इमान्दार जुझारु नेता गुमाएको बताएका हुन्।  

पार्टीले यादवको निधनमा शोक मनाउन आजदेखि तीन दिन पार्टी केन्द्रीय कार्यालयको झण्डा आधा झुकाउने र पार्टी केन्द्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ। कोभिड–१९ को सङ्क्रमणका कारण यादवको ५६ वर्षको उमेरमा आज बिहान निधन भएको थियो।

पार्टीका धनुषा जिल्ला सहइन्चार्ज रुपमा रहेका यादव नवौं महाधिवेशनमा वैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए। यादव पार्टीका भूमिगतकालदेखिका पुराना कार्यकर्ता, २०५० सालमा धनुषाको जिल्ला कमिटी सदस्य, जिल्ला कमिटीको सचिव, आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएको एमालेले जनाएको छ। 

उनी २०५६ सालको निर्वाचनमा धनुषा जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: ६ जेष्ठ २०७८ १३:४९ बिहीबार

नेकपा (एमाले) पूर्व सांसद योगनारायण यादव