राजनीति

गण्डकी प्रदेशः मन्त्रिपरिषदमा पुरानै अनुहार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री परिषद गठन गरेका छन् । गत बैशाख २९ गते दोश्रोपटक मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले आफुसहित ६ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् ।

अल्पमतको सरकार गठन पश्चात मुख्यमन्त्री बनेका गुरुङले पुरानै अनुहार दोहो¥याएका छन् । मुख्यमन्त्री बनेको एकहप्ता पछि गठन भएको मन्त्रीपरिषदमा मुख्यमन्त्रीले पहिलो कार्यकालमा मन्त्री भएकाहरु किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र राजिव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएका हुन् ।

नियुक्त भएका मन्त्रीहरुलाई बुधबार अपराह्न ३ बजे मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ खुवाईन् । सपथ ग्रहणमा मनाङे बाहेक सबै मन्त्री उपस्थित थिए । मनाङे भने अक्सिजन सिलिण्डर ब्यवस्थापनका लागि भन्दै काठमाडौं गएकाले सपथ ग्रहणमा उपस्थित नभएको बताइएको छ ।

 नवनियुक्त मन्त्रीहरुलाई पुरानै जिम्मेवारी तोकिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जसअनुसार किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रामशरण बस्नेतलाई भौतिक पूर्वाधार मन्त्रालय, विकास लम्साललाई उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, नरदेवी पुनलाई सामाजिक विकास मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको छ ।

किरण गुरुङ, बस्नेत, लम्साल र पुन प्रदेश सरकार बनेदेखिकै मन्त्री हुन् भने मनाङे मुख्यमन्त्रीको पहिलो कार्यकालको अन्त्य तिर केहि दिनका लागि मन्त्री बनेका थिए । गुण्डा नाईकेलाई मन्त्री बनाएको भन्दै आलोचना भएपनि आगामी कार्यकालमा पनि निरन्तरता दिनेगरी मुख्यमन्त्रीले मनाङेलाई मन्त्री दोहो¥याएको श्रोतले बताएको छ ।

दोश्रो पटक अल्पमतको सरकारको मुख्यमन्त्री बनेका गुरुङले एक महिना भित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त नगरेसम्म थप मन्त्री नबनाउने सोंच अनुसार चुस्त मन्त्रीमण्डल गठन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित: ५ जेष्ठ २०७८ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App