राजनीति

लुम्बिनी प्रदेशमा राष्ट्रिसभा उपनिर्वाचन : ह्विप नतोडिए गठबन्धनको पल्लाभारी

फाइल तस्बिर

राष्ट्रियसभा सदस्यको पदमा एमालेका चन्द्रबहादुर खड्का दोहोरिन खोज्दा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डेले उपल्लो सदनमा ‘अपग्रेड’ हुन खोजिरहेका छन् । खड्का आँफू कारबाही हुँदा रिक्त रहेको पदमा पुनः दोहोरिन खोज्दै छन् भने लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका पाण्डेले आँफूलाई राष्ट्रिसभा सदस्यमा पुर्याउन चुनावी लडाईँ लड्दै छन् ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित खड्का एमालेमा प्रवेश गरेका कारण कारबाहीमा परेका थिए भने एमालेबाट यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डे एमाले भित्रको धुमिल राजनीतिको कारण देखाउँदै राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए ।    

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उप्रममुखले मतदान गर्ने यो निर्वाचनमा लुम्बिनी प्रदेशमा चार दलीय गठवन्धनले आफ्नो बर्चश्न स्थापित गर्न चाहन्छ भने एमालेले एकल प्रयासका बावजुत पनि खड्कालाई पुनः राष्ट्रियसभामै पुर्याउन हर सम्भव प्रयत्न गर्ने छ ।  

तर लुम्बिनी प्रदेशको अंकगणितलाई हेर्ने हो भने चार दलीय गठबन्धनको पल्लाभारी हुने सम्भावना देखिएको छ । एक्लै चुनावी मोर्चामा उभिएको एमालेले चारदलीय गठबन्धन बाहेकका सबै मत पाएपनि उसको जीत अहिलेको अंकगणितले देखाउँदैन । चार दलीय गठबन्धनको कुल मतभार ३ हजार २ सय ६७ हुँदा एमालेको २ हजार ८ सय ३२ कायम छ ।

१९ प्रदेशसभा सदस्यसहित ४५ स्थानीय तहका प्रमुख-उपप्रमुख रहेको कांग्रेसको कुल मतभार १ हजार ६ सय ८५ छ । यसैगरि गठबन्धनमा रहेको माओबादी केन्द्रको १८ प्रदेशसभा सदस्य र १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरि कुलमत भार १ हजार १ सय ८८ छ । यसैगरि गठबन्धनमै रहेको जनता समाजवादीको कुल मतभार २ सय ९४ छ । प्रदेश सभाका २ सदस्यसहित जसपाको १३ मत छ । 

त्यसोत, जसपाबाट कारबाहीमा परेका चारजना प्रदेशसभा सदस्यको अन्तिम नामावलीमा समावेश भएको छैन । पार्टीको ह्विप उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएपछि जसपाले उनिहरुलाई कारबाही गरेको थियो । भलै सर्वोच्च अदालतले उनिहरुलाई कारबाही नभएको भनि आदेश गरिसकेको छ । 

जसपाको यो चार मत कायम भएको भए यसको फाईदा एमालेलाई पुग्ने सम्भावना रहन्थ्यो । सरकारको मन्त्री बनाएका शंकर पोखरेल प्रति उनिहरुले गुण तिर्ने सम्भावना अधिक रहन्थ्यो । यसैगरि गठबन्धनमै रहेको राजमोका १ जना प्रदेशसभा सदस्य र चार स्थानीय तहका प्रमुख उपप्रमुख गरि उसको कुल मतभार १ सय २० रहेको छ ।  

चारदलीय गठबन्धन भन्दा ४ सय ३५ मतभारसहित पछाडी देखिएको एमालेको  ३८ प्रदेशसभा सदस्य र ५६ जना स्थानीय तहका प्रमुख उपप्रमुख गरि कुल मतभार २ हजार ८ सय ३२ हुन आउँछ । मतदानमा सहभागी हुने अन्य दल तथा स्वतन्त्र सांसदहरुको मतभार जोड्दा पनि एमालेको मतभार चारदलीय गठबन्धनको भन्दा कमनै हुन्छ । 

राप्रपा संग चुनावी गठबन्धन भए एमालेको मतभार २ हजार ८ सय ६८ पुग्छ । यो प्रदेशमा राप्रपाका दुई स्थानीय तहका प्रमुख उपप्रमुख गरि जम्मा ३६ मतभार रहेको छ । यसैगरि राप्रपासंगै स्वतन्त्र तर्फको १ सय ३२ मतभार जोड्दा पनि एमालेको पक्षमा जीतका लागि मतभार पर्याप्त हुँदैन । स्वतन्त्र तर्फका दुई प्रदेशसभा सदस्य र २ जना स्थानीय तहका प्रमुख उपप्रमुख गरि हुन आउने १ सय ३२ मत भार जोड्दा एमालेका उम्मेदवारको पक्षमा ३ हजार मतभार पुग्छ । 

यसैगरि लुम्बिनी प्रदेशका मतदाता दलहरु मध्य १८/१८ मतभार रहेका तमलोपा र नयाँ शक्तिको मतभार एमालेलाई गएपनि एमालेको पक्षमा जम्मा ३ हजार ३६ मात्रै पुग्ने छ । गठबन्धन बाहेक लुम्बिनी प्रदेशको सबै मत एमालेलाई गएको खण्डमा पनि कांग्रेसका उम्मेदवार दृगनारायण २ सय ३१ मतभारका साथ बिजयी हुने देखिन्छ ।

तर पार्टीको ह्विप उल्लंघन हुने वा नहुने भन्ने बिषयले यसको निर्धारण भने गर्ने छ । ‘हामीहरु एमाले बाहेकका मतहरुलाई पनि आफ्नो पक्षमा पार्ने गरि कसरतमा लागेका छौँ,’ माओवादी केन्द्रका प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने, ‘संगसंगै हाम्रो मत सुरक्षित राख्ने प्रयासमा पनि हामी तल्लिन रहने छौँ ।’ चुनावी अंकगणितलाई हेर्दा अल्पमतमा देखिएको एमालेले पनि प्रदेशका अन्य मतदातासहित गठबन्धनमा रहेका मतदाताहरुलाई फकाउने रणनीति लागु गर्ने छ । 

‘अब मतदाताहरुलाई कसरी फकाउन सकिन्छ ? र हाम्रो पक्षमा पार्न सकिन्छ भन्नेमै हाम्रो ध्यान केन्द्रित हुने छ,’एमालेका प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भने ‘चार दलीय गठबन्धनका अगाडी अहिले हामी कमजोर हुने त स्वाभाविकै देखिन्छ, तर जीतका लागि हामी हर प्रयत्न गर्ने छौँ ।’

प्रकाशित: ५ जेष्ठ २०७८ ०६:०३ बुधबार

स्थानीय तह लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य