राजनीति

जसपाका १३ सांसद दिनभर रिसोर्टमा थुनिए

राष्ट्रपति कार्यालयमा बहुमत पेश गर्न समय सीमा तोकिएको अन्तिम दिन बिहीबार जनता समाजवादी पार्टीका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १३ सांसदहरू भक्तपुर सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्टमा दिनभर थुनिए। तर रिसोर्टमा उपस्थित भएका सांसदहरूले भने आफू रिसोर्टमा थुनिएको नभई बैठकमा सहभागी भएको बताएका छन्।  

रिसोर्टमा आफू निकट सांसदहरूलाई लैजानु अघि बिहीबार दिउसो ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। स्रोतका अनुसार ठाकुरसँगको भेटमा देउवाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। तर ठाकुरले सहयोग गर्न नसक्ने बताए।  

ठाकुरले सरकार निर्माणमा आफूहरू तटस्थ बस्ने बताएका थिए। देउवासँग भेट गरे पछि ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुबटार पुगे। ठाकुरले बिहीबार विहानै आफू निकट सासदहरूलाई पूर्व राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय बबरमहल बोलाएका थिए। प्रधानमन्त्रीसँग भेट गरे पछि ठाकुर र महतो सोझै बबरमहल पुगे। त्यहाँ केहीबेर आफूनिकट नेताहरूसँग छलफल गरे।  

त्यसपछि बैठक गर्नु पर्‍यो भन्दै आफूनिकट सासदहरूलाई उनले सूर्यविनायक नगरपालिकाको सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा पुर्‍याए। उक्त काममा एमालेका सांसद महेश बस्नेतले सहयोग पुर्‍याएको स्रोतले दाबी  गर्‍यो। तर यस दाबीलाई रिसोर्ट पुगेका सांसदहरूले ठाडै अस्वीकार गरे। आफूहरू आफ्नो खुशीले रिसोर्टमा गएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।  

जसपाका सांसद प्रमोद साहले जसपाको संसदीय दलको बैठकमा सहभागी हुन आफूहरू रिसोर्टमा पुगेका बताए। बैठकमा जसपाका १९ जना सांसदहरू रहेको दावी गरे। उनले आफ्नो समुहमा उपेन्द्र यादव कित्ताका अर्का एक सांसद पनि थपिने दाबी गरे। थपिएका सांसदहरूको बारेमा उनले नाम खुलाउन चाहेनन्। बैठक सहभागी भएकी जसपाकी सांसद चन्दा चौधरीले पनि सो बैठकमा १९ जना सांसद रहेको दावी गरिन।  

‘कोरना संक्रमणको बेला किन रिसोर्टमा बैठक गर्नुभएको भनी जिज्ञासा राख्दा उनले आफूहरूले सामाजिक दूरी कायम गरी बैठक गरेको बताइन्। बैठकमा सहभागी भएका एक नेताले भने उक्त बैठकमा जसपाका १३ जना मात्र सांसद रहेको दाबी गरे। उनले आफनो नाम खुलाउन चाहेनन्। कोरना संक्रमण देखिएका सांसदहरू भने बैठकमा सहभागी भएनन। बिमल श्रीवास्तब, नरमाया ढकाल बैठकमा गएनन्। रिसोर्टमा केहीबेर ठाकुर र महतो पनि उपस्थिति भए। त्यहाँ शरत् सिंह भण्डारी र अनिल झा पनि गएका थिए। ठाकुर र महतो बिहीबार साँझ रिसोर्टबाट सोझै प्रधानमन्त्री निवास बालुबटार पुगे। रिसोर्ट पुगेका जसपाका सांसदहरू भने बिहीबार रातिसम्म रिसोर्टमै खानपिन गरे।  

बालुबटार पुगेपछि ठाकुर र महतोले पुन प्रधानमन्त्रीमा नियुक्त हुन लागेकोमा ओलीलाई बधाइ दिए। ठाकुर र महतो बिहीबार दुईपटक प्रधानमन्त्री निवास पुगेका थिए। यसैगरी बुधबार पनि दुई पटक प्रधानमन्त्री निवास पुगेका थिए।  बिहीबार जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार ढाल्नको लागि विपक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता  

गरिरहेको बेला ठाकुर र महतोले आफू निकट सासदहरूलाई रिसोर्टमा लगि आफ्नो कित्ताबाट बाहिर जान दिएनन्।ओली सरकारलाई ढाल्ने कि ओली सरकारविरोधी गठबन्धनमा सहभागी नहुने भन्ने विषयमा जसपाका सांसदहरू प्रष्टसँग दुई कित्तामा बाडिएका छन्। बिहीबार बाबुराम भट्टराई र यादव ओली सरकार ढाल्न सक्रिय भए भने ठाकुर र महतो ओली सरकारको पक्षमा उभिएका छन्।  

प्रकाशित: ३१ वैशाख २०७८ ०२:०० शुक्रबार

जसपाका १३ सांसद रिसोर्टमा थुनिए