राजनीति

निरंकुशतातर्फ लागेको सरकारले मलाई हटायोः शेरचन

सोमबार मात्र प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचन पत्रकार सम्मेलनमा। तस्बिर: उमेश /नागरिक

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले निरंकुशतातर्फ लागेको सरकारले आफूलाई हटाएको आरोप लगाएका छन्। सरकारले पदमुक्त गरेपछि निवास छाड्नुअघि पत्रकार सम्मेलन गरेर शेरचनले असंवैधानिक कदममार्फत निरंकुशतातर्फ लागेको केपी ओली सरकारले आफूलाई पदमुक्त गरेको आरोप लगाए।  

‘राजनीतिक प्रतिशोध भन्दापनि निरंकुशतातर्फ सरकार लागेको छ । त्यहि भएर मलाई पनि पदमुक्त गरेको हो,’ उनको प्रश्न छ ‘होइन भने मलाई किन हटायो? मैले कहाँ गल्ती गरे र हटाइयो ? मैले कहाँ असहयोग गरे? यदि गरेको भए भन्नु पर्‍यो नि ! मैले त त्यस्तो गल्ती गरेकै छैन।’

प्रदेश प्रमुखको जिम्मेवारीमा १८ महिना २ दिन गुजारेका उनले आफू रहरले प्रदेश प्रमुख नबनेको बताए । ‘म बाध्यताले प्रदेश प्रमुख बनेको हुँ,’ उनले भने, ‘रहरले यहाँ आएको होइन, मलाई यहाँ बसिरहनु पनि मन थिएन । बाध्यताले बसेको मान्छे मैले कहिल्यै लाभको लागि बार्गेनिङ गरिन । पदमुक्त गर्नुअघि भनेको भए राजिनामा दिन्थे ।’  

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्ने वित्तिकै आफूले पद छाड्न खोजेपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रोकेको उनले बताए । शेरचनले भने, ‘असंवैधानिक कदम चाल्नेवित्तिकै राजिनामा पत्र खल्तीमा राखेर प्रचण्डलाई जानकारी गराउन गएको थिए । तर खै उहाँलाई फेरी पार्टी एकता हुन्छ जस्तो लाग्यो कि के लाग्यो, मलाई राजिनामा नदिनुस्, तपाईं त्यहाँ बसिरहनुस् भनेर रोक्नुभयो ।’ ढिलै भएपनि पदमुक्त भएकोमा आफू खुशी रहेको उनले बताए ।  

‘ओलीजी र पछि प्रचण्डजीले आग्रह गर्दापनि नस्वीकारेको पद पछि पार्टीले नै निर्णय गरेपछि बाध्य भएर स्वीकारेको उनले बताए । ‘अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनु भएकोमा पनि धन्यबाद,’ उनले भने ।

शेरचनले भ्रष्टाचार र कमिसनहरुको खेलमा दंगदंगी गन्हाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी व्यक्ति आफू नभएको भन्दै प्रधानमन्त्री ओलीलाई व्यंग्य गरे। बरु आफू वैदेशिक हस्तक्षेप, सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धमा आफूले जेलनेल भोगेको व्यक्ति भएकाले पद गएकोमा कुनै पछुतो नभएको बरु खुशी भएको उनले बताए । ‘पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति म होइन,’ उनले भने।

शेरचनले आफू पदमा रहुञ्जेल कसैलाईपनि काखा र पाखा नगरेको दाबी गरे । ‘सरकारलाई पनि सहयोग गरेको जिकीर गर्दै उनले भने,‘यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको थिएँ । कुनैपनि पार्टी विशेषको प्रभाव र छायाँमा काम गरिन। सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयतार्थ सम्पादन गरेको थिएँ ।’  

उनले पछिल्लोपटक अविधेशन अन्त्य गर्नका लागि विदाको दिन सरकारको पत्र आउँदा समेत त्यसलाई कार्यान्वयन गरेर आफूले ईमान्दारिता प्रस्तुत गरेको उनको दावि थियो । ‘यदि कसैलाई त्यस्तो लाग्दैन भने संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु,’ उनले थपे । विशेष अधिवेशन अन्त्य गर्नका लागि दिएको दवाब नमान्दा आफूलाई हटाएको भन्ने हल्लामा भने उनले सत्यता नभएको नभएको दाबी गरे । ‘अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने कुनै प्रावधान नै छैन र त्यसका लागि कुनै दवाब आएको पनि छैन,’ उनले भने।

शेरचनले देश कोभिड–१९ बाट आतंकित र आक्रान्त बनेको बेला दलका नेताहरु सत्तालिप्सामा लागेको आरोप लगाए। ‘कोभिड–१९ बाट देश आतंकित र आक्रान्त बनेका बेला राजनीतिक दलहरुले साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउधनको रक्षा गर्नुपर्ने अहम् बेलामा पार्टीबीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ,’ उनले भने ।  

शेरचनले आफू सक्रिय राजनीतिमै रहने घोषणा गरेका छन् । ‘म सक्रिय राजनीतिमा विस्वास गर्ने मान्छे हुँ,’ उनले भने, ‘मेरो जीवन सक्रिय राजनीतिमै अन्त गर्न चाहन्छु ।’ आफू राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौकितासँगै श्रमजिवी वर्गको हक, हित र अधिकारका लागि लड्दै आएको र आगामी जीवनपनि त्यसैका लागि समर्पण गर्ने उनले बताए । उनले माओवादी केन्द्रमै रहेर राजनीति गर्ने उनले प्रष्ट्याए।

प्रकाशित: २१ वैशाख २०७८ ०७:१४ मंगलबार

गण्डकी प्रदेश प्रमुख