राजनीति

लुम्बिनी प्रदेशमा अधिनायकवादी चरित्रको अर्को संस्करण: देउवा

नेपाली काँग्रेसले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएकाे बताएका छन्।

‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ,' देउवाले भने, 'बलमिच्याँइले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु।’

सभापति देउवाले लुम्बिनी प्रदेशमा भएको घटनाक्रमलाइ संविधानको  उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्ति भएको जनाउँदै सो घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएकोसमेत स्पष्ट पारेको छ। घटनाको पार्टी सभापति देउवाले कडा शब्दमा भत्सर्ना गरेको छ।  

‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन।’ समापति देउवाले भने।

उनले नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मूल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक रहेको उल्लेख गरे।

संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मूल्य–मान्यता, विधि र पद्दतिको ठाडो उल्लंघन भएको सभापति देउवाले ठहर गरेको छ।

प्रकाशित: १९ वैशाख २०७८ १३:४८ आइतबार

नेपाली कांग्रेस कांग्रेस सभापति शेरबहादुर देउवा