राजनीति

गण्डकी प्रदेशः कोरोना पुष्टि गर्न सत्ताको दुरुपयोग !

कुर्सी जोगाउन राजनीतिक दलहरु कुन हदसम्म गिर्छन् ? त्यो थाहा पाउन गण्डकी प्रदेशको राजनीतिक उथलपुथल हेरे पुग्छ । यतिसम्मकी सत्तामा टिकिरहन यहाँ एकजना सांसदलाई जर्बजस्ती बिरामी बनाइएको आशंका गरिएको छ ।  

गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीलाई कोरोना पुष्टि गर्न यहाँ सत्ताको दुरुपयोग भएको छ । कतिसम्म भने सांसद शाहीलाई एकमिनेटकै अन्तरमा कोरोना संक्रमणको रिपोर्ट दिइएको छ । सामान्यतया कोरोनाको रिपोर्ट आउन ६ घण्टा लाग्छ । उस्तै दवाब परेपनि कम्तिमा साढे ४ घण्टा भन्दा कममा प्रयोगशालाले रिपोर्ट दिँदैनन् । तर सांसद शाहीलाई कोरोना पुष्टि गर्नका लागि स्वाब लिएको १ मिनेटको कोरोनाको रिपोर्ट दिएको पाइएको छ ।  

सांसद शाहीलाई दिइएको कोरोना रिपोर्टमा स्वाब लिएको समय बैशाख १५ गते बुधबार राती ८ बजेर ५१ मिनेट १४ सेकेण्ड उल्लेख छ भने कोरोनाको रिपोर्ट बनेको समय सोहि दिन राती ८ बजेर ५२ मिनेट ११ सेकेण्ड उल्लेख छ ।

कोरोना रिपोर्ट एक मिनटमै दिनु असम्भव रहेको प्रयोगशालाका विज्ञहरुले बताएका छन् । पोखराको सरकारी अस्पतालमा कार्यरत प्रयोगशालाका एकविज्ञ भन्छन्, ‘एकमिनेटमा होइन चारघण्टामा पनि कोरोनाको रिपोर्ट दिन सकिन्न, यो सफेद झूठ र नौटंकी हो ।’ उनले सेटिङ र दवाबमा यस्तो रिपोर्ट बनाएको हुनसक्ने अनुमान गरे । नीजि ल्यावका एक सञ्चालकले पनि कोरोनाको रिपोर्ट १ मिनेटमै दिनु हास्याँस्पद भएको बताए । ‘एक मिनेटमा रिपोर्ट कुनैपनि हालतमा दिन सकिन्न । सेटिङ मिलाएर जाँच नगरी रिपोर्ट मात्र दिदामात्र यो सम्भव छ,’ उनले भने ।  

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदी भने शाहीको रिपोर्टबारे आशंका गर्नुपर्ने जरुरी नभएको बताउँछिन् । उनका अनुसार शाहीको नमूना बुधबार दिउँसो ३ बजे प्रयोगशालामा पुगेको थियो । त्यसपछि परीक्षण गरेर बेलुकी ८ बजेपछि मात्र रिपोर्ट जारी गरिएको हो । ‘हामीले रिपोर्ट प्रिन्ट निकाल्ने बेला अहिले सफ्टवेयर प्रयोग गर्छाै । त्यो सफ्टवेयरमा सबै रिपोर्ट इन्ट्रि गरेपछि प्रिन्ट निकालिएको हो,’ सुवेदीले भनिन्, ‘त्यसैले समय एउटै देखिएको हो ।’  

एकदिनकै फरकमा एकै व्यक्तिको फरक रिपोर्ट आउने सम्भावना कम भएपनि आउँदै नआउने भने नहुने उनले बताईन । ‘सामान्यतया फरक रिपोर्ट आउँदैन । तर, सम्भावना नै नहुने भन्ने चाँही होईन,’ उनले भनिन, ‘विश्लेषणमा पनि फरक पर्न सक्छ ।’ सुवेदीका अनुसार शाहीको रिपोर्टमा भाइरस न्यून देखिएको छ । त्यसैले उनी जोखिममा छैनन ।  

एक मिनेटमै दिइएको कोरोना रिपोर्टले शंकाको सुई राजनीतिक सेटिङतिर तेर्साएको छ । यसको मास्टर माईन्ड चाहिँ प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै भएको धेरैको अनुमान छ । किनकी मुख्यमन्त्री गुरुङबिरुद्ध परेको अविश्वास प्रस्तावलाई निर्णयार्थ पेश गर्ने समयमा शाही सम्पर्कविहीन् भएका थिए । पछि उनी चरक अस्पतालको कोभिड वार्डको आईसियूमा रहेको खुलेको थियो ।  

लगत्तै मुख्यमन्त्री पुगेर भेट्न खोजेका थिए । तर त्यहीबेला पत्रकार देखेपछि मुख्यमन्त्री गुरुङ सांसदलाई नभेटी फर्केको श्रोत बताउँछ । ‘मुख्यमन्त्री सांसद शाहीलाई भेट्न भनेरै पुग्नु भएको हो,‘ श्रोत भन्छ, ‘तर त्यहाँ पुग्दा पत्रकार देखेपछि सुरक्षाकर्मीसँगको परामर्शमा मुख्यमन्त्री शाहीलाई नभेटी फर्किनु भयो ।’

केहीगरि शाही प्रदेश सभा बैठकमा गएको भए गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित हुन्थ्यो । किनकी अविश्वास प्रस्ताव पक्षधर नेपाली कांग्रेस (१५), नेकपा माओवादी केन्द्र ११ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा) २ र जनमोर्चाका ३ गरी ३१ जना सांसद छन् । जुन अविश्वास प्रस्ताव पारित गर्न आवश्यक संख्या ३१ पुग्छ । तर शाहीलाई प्रलोभनमा पारेर अनुपस्थित गराउने र अविश्वास प्रस्ताव फेल गराउने प्रयास स्वरुप राज्यसत्ताको दुरुपयोग भइरहेको आशंका अहिले व्याप्त छ ।

उसो त सांसद शाहीको यसअघिको रिपोर्ट पनि शंकास्पद देखिएको थियो । मुख्यमन्त्री गुरुङबिरुद्ध पेश भएको अविस्वास प्रस्ताव निर्णयार्थ पेस गर्ने अघिल्लो दिन मंगलबार प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख तथा सम्पूर्ण प्रदेश सभा सदस्यहरुको कोरोना जाँच गर्न स्वाब संकलन गरिएको थियो । त्यसमा सांसद शाहीलेपनि स्वाब दिएका थिए । स्वाब दिएको भोलिपल्ट विहानै शाहीको रिपोर्ट नेगेटिभ आयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको सरकार ल्यावमा गरिएको रिपोर्ट नेगेटिभ आएपनि शाहीलाई कोरोना भएको भन्दै पोखराको नागढुंगास्थित चरक अस्पतालको आईसियूमा राखिएको खबर सार्वजनिक भयो । लगत्तै बुझ्दा उनले पोखराको न्यूरोडस्थित लाइफ केयर डाइग्नोष्टिक प्रालिबाट कोरोना पोजिटिभ भएको रिपोर्ट लिएको पाइयो । रिपोर्टमा उल्लेख भए अनुसार उनले सांसदहरुले सामुहिक रुपमा सरकारी ल्यावलाई स्वाब दिएको १० मिनेटको अन्तरमा लाइफ केयरमा स्वाब दिएको देखिन्छ । जबकी सो समयमा उनी संसद भवनमै भएको देखिएको छ ।

सबै सांसदले एकैपटक स्वाब दिदादिदै पुनः अर्को नीजि ल्यावमा पिसीआर टेस्ट गर्नुको कारण के हो ? यस बारेमा केहिपनि खुलेको छैन । किनकी स्वाब दिनुअघिसम्म उनी सामान्य अवस्थामा थिए । सो दिन उनलाई भेटेका एक सांसद भन्छन्, ‘उहाँ तन्दुरुस्त हुनुहुन्थ्यो, त्यसबेला नत उहाँ विरामी जस्तो देखिनुहुन्थ्यो नत उहाँमा कोरोनाको लक्षण नै थियो ।’

त्यतिमात्र होईन शाहीलाई दिएको रिपोर्ट नै शंकास्पद छ । किनकी शाहीले त्यहाँ स्वाब दिएको पुष्टि हुन सकेको छैन । बाहिरबाट ल्याएको स्वाब टेस्ट गरेको भनिएपनि त्यसको पुष्टि हुन नसक्दा रिपोर्टप्रति झन् शंका उत्पन्न गराएको छ । सोहि ल्यावमा कार्यरत एक कर्मचारी भन्छन्, ‘रिपोर्ट हाम्रो हातमा हुँदैन हजुर, यहाँ ठूलो चलखेल छ ।’ 

प्रकाशित: १६ वैशाख २०७८ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App