राजनीति

शाहीमा कोरोना संक्रमण पुष्टि गर्न सकिन्नः प्रदेश स्वास्थ्य निर्देशनालय

चारबजेसम्मको रिपोर्ट अनुसार शाहीमा कोरोना संक्रमण देखिन्न

खिमविक्रम शाही

चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको बुधबार दिउँसो चारबजेसम्म कोरोना पुष्टि हुन सकेको छैन ।  

चरक मेमोरियल  अस्पतालको कोरोना वार्डको आइसियूमा शाहीको उपचार भईरहेको अस्पतालले बताएपनि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने दिउँसो ४ बजेसम्म शाहीको कोरोना रिपोर्ट पोजेटिभ नभेटेको बताएको छ ।  

‘मंगलबार प्रदेशका सबै सांसदको कोरोना परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो । तर, शाहीको रिपोर्ट भने नेगेटिभ थियो,’ निर्देशनालय श्रोतले भन्यो, ‘उनमा संक्रमण भएको भए प्रदेशको स्वास्थ्य निर्देशनालयलाई थाहा हुन्थ्यो । किनकी सबैतिरको रिर्पाेट निर्देशनालयमा आउँछ । शाहीलाई कोरोना संक्रमण भएको भनेर हामीले पुष्टि गर्न सक्दैनौ ।’ कोरोना नै संक्रमण नभई त अस्पतालको कोरोना वार्डको आईसीयूमा भर्ना नहुनुपर्ने ती अधिकृतले बताए । शाही भने दिउँसो १२ बजे नै बिरामी भएको भनेर अस्पतालमा भर्ना भएका थिए ।  

तर, चरक मेमोरियल अस्पतालका एकजना उच्च अधिकारीले भने शाहीमा कोरोना संक्रमण देखिएपछि आईसीयूमा राखेर उपचार भईरहेको बताएको छ । ‘शाहीमा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँको अहिले आईसीयूमा राखेर उपचार भईरहेको छ,’ अस्पतालका एकजना उच्च अधिकृतले भने ।  

प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदविन्दु शर्माले शाहीको रिपोर्टबारेमा जानकारी नभएको बताए । ‘म यो बारेमा ‘अपडेट’ छैन,’ शर्माले भने, ‘मैले पनि बुझ्नुपर्छ ।’

प्रकाशित: १५ वैशाख २०७८ १२:४५ बुधबार

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश