राजनीति

ओलीलाई रावलकाे जवाफः सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस्

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताएका हुन्। ‘ओलीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं।’ उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे। कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए।  

नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको बताए। रावलले भने,‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं।’

कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने जिकिर गरे। उनले सांसद पद जाने गरी विधिविधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे। ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ ओलीलाई चुनौती दिँदै रावलले भने,‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्काहोस्।’  

विधि र विधानविपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपाएमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए। उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे। उनले भने,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं।’

आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताए। उनले भने,‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं।’  

ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिए। कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको सुनाए।  

ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिए। अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताए। उनले भने,‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं।’  

सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए। ओलीले चालेका कदमहरु नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताए।  

देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए। उनले भने,‘भारत र चीन जस्ता देश अवस्थित भूराजनीतिक जटिलताका बीच रहेको देशमा ओलीको गतिविधि घातक छ।’

लिपुलेकमा भारतले मार्ग बनाउन लागेपछि आफूहरुले बारम्बार आवाज उठाएपछि मात्र ओली नक्शा प्रकाशित गर्न मानेको बताए। तर, नक्शा प्रकाशित सरकारी पुस्तिकामा प्रतिबन्ध लगाएको बताए।  

ओलीले कोरोना महामारीको बखत जनता घरभित्र बस्दा दल विभाजनको अध्यादेश ल्याउनेदेखि देशको राजनीतिलाई दूषित गर्न लागेको आरोप लगाए। उनले ओलीको राष्ट्रवादमाथि नै प्रश्न गरे।  

ओलीले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप लगाए। एमसीसीलाई राष्ट्र हितविपरित भन्दै त्यसलाई रोक्न आफूहरु लागेको बताए। उनले भने,‘देश हितविपरित जान्न भनेर सभामुखले भन्नु भएको छ, उहाँलाई धन्यवाद छ।’ देश हितविपरितका प्रावधान राखिएको र त्यसलाई हटाएमा मात्र एमसीसी संशोधनसहित पारित गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे।  

ओलीले एमसीसी नेपालको कानुनभन्दामाथि र प्रसारण लाइनमा अमेरिकी अधिकार स्थापित गर्ने प्रावधान राखेर पारित गर्न खोजेको आरोप लगाए। उनले भने,‘नेपालको संविधानभन्दामाथि एमसीसीमा उल्लेखित प्रावधान खतरनाक छ।’ एमसीसीको प्रावधान सच्चिनुपर्ने बताए। उनले भने,‘कसैको ५ अर्ब वार्षिक रकममा देशको अस्मिता लुट्न दिन मिल्छ?’ सुनको आसनमा बस्न दिएर आमाको अस्मिता लुट्न छुट दिए जस्तै स्वीकार्य नहुने बताए।  

देशलाई अफगानिस्तान र सिरियाको अवस्थामा लाने शैली स्वीकार्य नभएको बताए। एमसीसीमा भएका देश हितविपरितको प्रावधान नहटाए सम्झौता रद्द गर्नुपर्ने बताए।

प्रकाशित: १० वैशाख २०७८ ११:५३ शुक्रबार

नेकपा एमालेका नेता भीम रावल प्रधानमन्त्री केपी शर्मा ओली