नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ । नियुक्त भएका यादव पूर्वमहान्यायाधिवक्ता समेत हन् ।पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा उनलाई नियुक्त गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
निर्वाचन समितिका यसअघिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिएपछि वरिष्ठ अधिवक्ता यादवलाई सो पदमा नियुक्त गरिएको हो ।
कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तालिका छ । महाधिवेशनका लागि पार्टीका गाउँ÷नगर, वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन आगामी असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ ।
प्रकाशित: ८ वैशाख २०७८ १२:१२ बुधबार