राजनीति

मन्त्रीमण्डल पुनर्गठन गर्छौं : मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेससहित नेकपा एमालेबाट फ्लोर क्रस गरेर विश्वासको मत दिएका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका छन् । उनले कर्णालीको सत्ता समीकरण नयाँ ढंगले अघि बढेकाले आफूलाई संकटको बेला साथ दिएको नेपाली कांग्रेस र एमालेबाट फ्लोर क्रस गरेर साथ दिएका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका हुन् ।

‘कर्णालीको सत्ता समीकरण नयाँ ढंगले अघि बढेको छ,’ मुख्यमन्त्री शाहीले नागरिकसँग कुरा गर्दै भने, ‘सोही अनुसार मन्त्रीमण्डल पुनर्गठन हुन्छ ।’ अल्पमतमा रहेका मुख्यमन्त्री शाहीलाई अन्तिम समयमा आएर नेपाली कांग्रेस र एमालेको माधवकुमार नेपाल समूहका चार जना सांसदले विश्वासको मत दिएका थिए । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ ।  

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काएपछि फागुन ५ गते एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । गणीतीय हिसावले अल्पमतमा रहेको जान्दाजान्दै मुख्यमन्त्री शाहीले एमालेको माधवकुमार नेपाल समूहको साथ पाउने भएपछि विश्वासको मत लिने निर्णयमा पुगेका थिए ।  

मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट बनाउनका लागि तत्कालै सरकार पुनर्गठनको आवश्यकता रहेको बताए । ‘नीति, कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने बेला भइसकेकाले चाँडै सरकार पुनर्गठन हुन्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पनि यो आवश्यक छ ।’ उनले कुन मन्त्रालय कसलाई दिने भन्नेमा कुरा भइनसकेको बताए । उनले शनिबारदेखिनै मन्त्रालय बाँडफाँडका विषयमा छलफल सुरु हुने पनि बताए ।  

प्रकाशित: ३ वैशाख २०७८ १५:०१ शुक्रबार

कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रीमण्डल पुर्नगठन