राजनीति

किन रोकियो एमसिसी

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ संसद्मा पेस नगरेको भन्दै सभामुख अग्तिप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री सभामुखविरुद्ध जंगिए पनि उनकै दल एमालेभित्र एमसिसीको विरोध गर्ने नेताहरूको कमी छैन। एमसिसी मुलुकको हितविपरीत रहेको भन्दै नेकपा माओवादी तथा नेकपा एमालेभित्रकै कतिपय नेताले यसलाई संशोधन नगरी अनुमोदन गर्न नहुने मत राख्दै आएका छन्। यसै कारण उक्त प्रस्ताव लामो समयदेखि संसद्मा रोकिएको छ।  

एमसिसीलाई संसद्बाट पारित गर्ने विषयमा तत्कालीन नेकपाभित्र चर्काे विवाद भएको थियो। सोही कारण एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदलसमेत गठन भएको थियो । कार्यदलले यथास्थितिमा एमसिसी संसद्बाट पारित गर्न नहुने सुझाव दिएपछि यो विषय थप पेचिलो बनेको थियो । एमसिसी कार्यान्वयनसम्बन्धी सम्झौताअनुसार उक्त परियोजना नेपालमा लागु गर्न संसद्बाट अनुमोदन हुनुपर्छ।  

तत्कालीन नेकपाभित्र दाहाल–नेपाल समूहले यथास्थितिमा एमसिसी संसद्बार पारित गर्न नसकिने अडान राखेको थियो । नेकपाको एउटा खेमा एमसिसीलाई कुनै पनि हालतमा पारित हुन नदिने पक्षमा अडियो । त्यो धारको नेतृत्व नेकपा अध्यक्ष रहेका पुष्पकमल दाहालले गरेका थिए।  

नेकपाभित्र ध्रुवीकरण हुनुका पछि एमसिसी नै कारण रहेको तर्क पनि कतिपयको छ। एमसीसीलाई प्रधानमन्त्री ओलीले अघि बढाउन चाहने तर अर्काे पक्षले रोक्न खोज्दा पार्टीभित्र विवाद बढेको थियो। एमसिसी सहज ढंगले पारित हुने अवस्था नभएपछि नेकपा विभाजनको बाटोमा अघि बढेको र त्यसमा अमेरिकी स्वार्थले पनि काम गरेको कतिपयको तर्क छ । पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले पुस ५ मा संसद् विघटन गरेका थिए। उनको कदम अलोकतान्त्रिक भए पनि लोकतन्त्रको वकालत गर्ने अमेरिकाले यसलाई आन्तरिक विषय भन्दै थप टिप्पणी गरेको थिएन।  

एमसिसीलाई यथास्थितिमा अनुमोदन गर्न नहुने मत राख्दै आएका पुष्पकमल दाहाल पनि गत माघ २२ मा प्रधानमन्त्री ओलीको संसद् विघटनसम्बन्धी कदमको विरोध गर्न आयोजना गरेको कार्यक्रममा एमसिसीविरुद्ध नारा लाग्दा शिर झुकाएर सभाबाट बाहिरिएका थिए । दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले ललितपुरको पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरिरहेका बेला दाहालले पनि स्वरमा स्वर मिलाएर नारा लगाइरहेका थिए।

 कार्यकर्ताले एमसिसीविरुद्ध समेत नारा लगाउन थालेपछि उनले सुरुमा त्यसो नगर्न सम्झाएका थिए । तर कार्यकर्ताले नमानेपछि उनी असहज महसुस गर्दै सभास्थलबाट बाहिरिएका थिए। दुई पार्टी एकीकरण भएर बनेको नेकपालाई अदालतले रद्द गरी तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि राजनीतिक स्थिति केही परिवर्तन भएको छ । सभामुख सापकोटा माओवादी केन्द्रसँग नजिक छन् । त्यही कारण पनि उनले एमसिसीलाई संसद्मा प्रस्तुत नगरेको प्रधानमन्त्री ओलीको विश्लेषण छ।

प्रकाशित: २ वैशाख २०७८ ०५:२७ बिहीबार

किन रोकियो एमसिसी