राजनीति

'प्रचण्डको सनकमा जननिर्वाचितको पद खोसियो'

नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेशसभा सांसद पद गुमाएका धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्षमाथि गम्भीर आरोप लगाएका छन् । उनले स्पष्टीकरणको मौकासमेत नदिएर कानुनी व्यवस्थाको धज्जी उडाउँदै जननिर्वाचित सांसदको पद अध्यक्ष प्रचण्डको सनकमा फालिएको आरोप लगाएका छन् । ‘लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन,’ रेग्मीले आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘त्यसो त युद्धताका पार्टीमा फरकमत राख्ने नेता–कार्यकर्तामाथि कोर्टमार्सल गरिन्थ्यो, लोकतन्त्रमा त्यस्तो गर्न मिल्दैन ।’

रेग्मीले दलीय जिम्मेवारीबाट च्यूत गर्न सक्ने भएपनि जननिर्वाचित निकायबाट च्यूत गर्ने हैसियत प्रचण्डमा नरहेको दावी गरेका छन् । ‘प्रचण्ड आफै ३३ वर्षसम्म स्वघोषित पार्टी अध्यक्ष भएको तथ्य छर्लङ्ग छैन र ?,’ उनले प्रश्न गरे, ‘आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?, ३५ हजार दैलेखी मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्युत गर्न मिल्छ ?’ उनले लोकतन्त्रमा त्यस्तो अधिकार कुनै पनि कानुनले पार्टी नेताहरूलाई दिँदैन र दिनु हुँदैन भनेका छन् ।

उनले नेकपा विवादलाई प्रचण्डको तत्कालै प्रधानमन्त्री हुने र माधव नेपालको पार्टी अध्यक्ष हुने लालसाको परिणाम उत्पन्न कृत्रिम विवाद भनेका छन् । ‘यसको प्रहसन  काठमाडौमा गरिए पनि रिमोट ब्रसेल्स र नयाँ दिल्लीमै थियो,’ उनले भने, ‘पार्टी नेतृत्वमाथि कम्फरटेवल कमरेडहरुले चौतर्फी हमला गरिरहेकै बखत मैले पार्टी र सरकारको नेतृत्वको रक्षाको खातिर प्रधानमन्त्रीलाई समर्थन गरेको हुँ ।’  

उनले एकातिर माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर, आफुहरु तिनै ओलीलाई सहयोग गर्दा प्रचण्डको कारवाहीको भागिदार हुनुपरेको बताएका छन् । ‘प्रचण्डले एमालेको मत लिएर चुनाव जित्न हुने, हामीले चाहीँ एमालेतिर उभिँदा पद छोड्नु पर्ने ?, आफुले एमालेकै चुनाव चिन्ह सूर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सूर्यको पक्षमा उभिदा पार्टी अनुशासन उल्लङ्घन हुने ? वाह कमरेड !,’ उनले फेरि प्रश्न गरे, ‘तपाईंले सर्वाेच्च अदालतमा पुनरावलोकन दर्ता गर्दा नेकपा बनाइदिन अनुनय गर्ने अनि हामीलाई चाहीँ माओवादी बनेनन् भनेर छडी लगाउने ? यो कुन नैतिकता हो कमरेड !’

उनले पार्टी भन्दा माथि उठेर जनताको पक्षमा निर्भीकतापूर्वक बोल्दा पदका बारेमा कहिल्यै नसोचेको बताएका छन् । ‘काठमाडौंमा जमेको वकालत चटक्कै छोडेर दैलेखमा पहिलेनै हार्ने घोषणा गरिएको निर्वाचन लड्न हानिँदा मैले दैलेखी जनताको मुहारमा खुशी फर्काउने अभिलाशा बोकेको थिएँ,’ उनले भने, ‘म निर्वाचित भएपछिको लडाइँ त्यहीँ जनअपेक्षाको कडी थियो ।’

हाल नेकपा एमालेको कर्णाली प्रदेश सचिव रहेका रेग्मीले सशस्त्र द्वन्द्वका बेला प्रचण्ड र बाबुराम भट्टराईलाई दैलेखी जनताले लखेटेको स्मरण गरेका छन् । ‘दैलेख त्यस्तो जिल्ला हो, जहाँबाट कमरेड प्रचण्ड र बाबुराम लखेटिएका थिए,’ उनले लेखेका छन्, ‘त्यस्तो जिल्लामा कुशलतापूर्वक निर्वाचनमा सफलता हाँसिल गर्नु चानचुने कुरा थिएन् ।’ उनले माओवादीको ‘शिला’ खोज्नुपर्ने ठाउँबाट आफुले चुनाव जितेको बताउँदै फेरि पनि जनताबाट अनुमोदन हुने नैतिक तागत आफूसँग रहेको बताएका छन् ।

‘स्थानीय तहको निर्वाचनमा दैलेखको कुनै पनि वडामा माओवादीले सदस्यसमेत नजितेको छैन,’ उनले भने, ‘वास्तवमा म माओवादीको शिला खोज्नुपर्ने ठाउँमा चुनाव जितेको पात्र हुँ ।’

रेग्मीले प्रदेशसभा सदस्यका रूपमा आफ्नो तीन वर्षे कार्यकाल कर्णालीका जनताको सर्वोत्तम हित, लोकतन्त्र, सुशासन, भ्रष्टाचार बिरोधी अभियान सञ्चालन र विधिको शासनको पक्षमा समर्पित रहेको बताएका छन् । ‘मैले प्रदेशसभामा निर्भीक रूपमा जनताको पक्षमा आवाज बुलन्द गरेँ,’ उनले भने, ‘सत्ताको अँध्यारो कोठरीभित्र घनिभूत रूपमा बढेको भ्रष्टाचारको बिरोध गरेँ ।’

उनले सरकारलाई प्रभावकारी बनाउन र समृद्ध कर्णालीको चाहाना पूरा गर्न हिल्सा–सुर्खेत फास्ट ट्याक निर्माण, कर्णालीमा बाह्य लगानी भित्र्याउन, सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार, प्रदेशसभाका सुरूआती दिनहरुमा कानुन निर्माण, मस्र्यौदा लेखनलगायतका काममा आफुले नेतृत्वदायि भूमिका खेलेको बताएका छन् । उनले प्रदेश सरकारको राजनीतिक पूर्वाग्रहका बाबजुत पनि आफ्नो निर्वाचन क्षेत्रमा २९ वटा विद्यालय, दुई वटा क्याम्पस भवन, अस्पताल, सडक, खानेपानी र कृषि क्षेत्रमा उल्लेखनीय कामहरू सम्पन्न भएको बताएका छन् ।  

प्रकाशित: ३० चैत्र २०७७ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App