राजनीति

ओली सरकार ढाल्न कांग्रेसको प्रस्ताव

जसपाले भन्यो– चासो छैन

नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेता शुक्रबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा छलफल गर्दै। तस्बिर:रासस

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ। प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिनानिष्कर्ष टुंगियो। नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो।

बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए। कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेबमोजिम देउवाले औपचारिक रूपमा माओवादी केन्द्र र जसपाका नेताहरूसँग छलफल गरेका हुन्। देउवाले लोकतान्त्रिक र निष्पक्ष चुनाव गराउन ओली नेतृत्वको सरकार ढालेर नयाँ बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो।

देउवाले राखेको पार्टीको धारणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उत्साहित हुँदै सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो। तर जसपा अध्यक्ष महन्थ ठाकुरले भने ओली सरकार ढाल्ने प्रस्तावमा सहमति जनाएनन्। स्रोतले ठाकुरलाई उद्धृत गर्दै भन्यो, ‘अहिले हाम्रो चासो पार्टीका माग पूरा गराउनेमा मात्र केन्द्रित छ। सरकारले हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको छ। यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन।’ ठाकुरले ओली सरकार ढालेर नयाँ निर्माण गर्ने विषयमा आफ्नो पार्टीभित्र छलफल नभएको पनि बताएका थिए। पार्टीमा छलफल भएपछि मात्र यसबारे बोल्ने जानकारी उनले गराएका थिए।  

स्रोतले ठाकुरलाई उद्धृत गर्दै भन्यो, ‘अहिले हाम्रो चासो पार्टीका माग पूरा गराउनेमा मात्र केन्द्रित छ। सरकारले हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको छ। यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन।’ माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा बनाउन देउवाले राखेकाे प्रस्तावमा सहमति जनाएका छन्। 

बैठकमा सहभागी जसपाका नेता राजेन्द्र महतोले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा बनाउन राखिएको प्रस्तावमा आफ्नो पार्टीले सहमति नजनाएको प्रस्ट पारे। ‘देउवाजीले ओली नेतृत्वको सरकार ढाल्ने र कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव राख्नुभयो,’ महतोले भने, ‘तर हामीले प्रस्टसँग भन्यौं, अहिले हामी सरकार ढाल्ने र नयाँ बनाउने खेलमा लागेका छैनौं। हामीले हाम्रा माग सम्बोधन गराउने विषयमा मात्र केन्द्रित छौं भन्यौं।’ जसपाले राखेका माग सम्बोधन गर्न सरकारले प्रक्रिया अघि बढाइरहेका बेला सरकार ढाल्ने खेलमा जसपा नलाग्ने पनि उनले बताए। ‘तत्काल हामी सरकार ढाल्ने खेलमा लाग्दैनाैं। यसबारे पार्टीमा छलफल गर्छौं र आधिकारिक धारणा बनाउँछाैं’, महतोले भने।  

केही दिनअघि नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले ओली नेतृत्वको सरकार ढालेर पार्टीको नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउन पहल गर्ने निर्णय लिएको थियो। सोही निर्णयबमोजिम कांग्रेसले ती दलसँग छलफल गरेको हो। कांग्रेसले प्रधानमन्त्री पदबाट ओलीको राजीनामा पनि मागेको छ।  

जसपाले आन्तरिक छलफल गरेपछि अर्को बैठक बस्ने सहमति भने भएको महतोले बताए। तीन दलको बैठब बस्नुअघि जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, नेताहरू महतो, अशोक राई र राजेन्द्र श्रेष्ठबीच महाराजगन्जमा आन्तरिक छलफल भएको थियो। यसैगरी तीन दलीय बैठक बस्नुअघि नेपाली कांग्रेसका शीर्ष नेताहरूले पनि अनौपचारिक छलफल गरेका थिए।

प्रकाशित: २८ चैत्र २०७७ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App