राजनीति

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन्।

सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उनी निर्वाचित भएकी थिइन्। सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो।  

निर्वाचन आयोगले उनी समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो। संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ। कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गराएका थिए।

प्रकाशित: २२ चैत्र २०७७ ०८:२० आइतबार

सभामुख अग्निप्रसाद सापकोटा जानकीदेवी राम