राजनीति

योगेश भट्टराईलाई महेशले भनेः राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन

नेकपा एमालेका युवा नेता एवम् पूर्वमन्त्री महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक बिकल्प रोज्न सुझाएका छन्। उनले माधव पक्षीय नेताहरुको पछिल्ला गतिविधि पार्टी एकताको पक्षमा नरहेको समेत दावी गरे। आफू पक्षीय युवा संघको जिल्ला समिति घोषणा तथा सफथग्रहण कार्यक्रमका लागि ताप्लेजुङ आइपुगेका नेता बस्नेतले पार्टीहित बिपरित काम गरेकै आधारमा पार्टीले नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण सोधेको र त्यसको चित्तबुझ्दो जवाफ नआएपछि पार्टी बिधान अनुसार केही अवधिका लागि निलम्बन गरिएको बताए।  

पार्टीहित बिपरित गए पार्टीले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने जस्ता विषय लोकतान्त्रिक चरित्रका आधार भएकोले यसमा कसैले चित्त दुखाउन नहुने उनको जोड थियो। एमाले नेता तथा सांसद योगेशकुमार भट्टराईलाई राजनीतिक भविष्य बोकेको नेताको रुपमा चित्रित गर्दै नेता बस्नेतले उनी जस्तो नेता पार्टी विभाजनतर्फ केन्द्रित हुन नहुनेमा जोड दिए। पार्टीको नीति, नेतृत्व, बिधान र पद्धतिलाई आत्मसात गरेर अघि बढ्ने हो भने नेता भट्टराईको राजनीतिक भविष्य उज्वल रहेको नेता बस्नेतको भनाइ थियो।  

भट्टराई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका हुन्। नेता भट्टराईप्रति संकेत गर्दै नेता बस्नतेलले भने, 'उहाँको राजनीतिक स्टेपमा जुन गति हुनुपथ्र्यो, २०५४ सालको पार्टी विभाजनले उहाँलाई धिमा बनाएकै हो, अब पनि विभाजनतर्फ उन्मुख भए उहाँका लागि पतनको बाटो हुनेछ।’ तर बस्नेतले भट्टराई केही समयभित्रै पार्टी बिधि, प्रकृया, पद्धति र नेतृत्वको पक्षमा आउने बिश्वास लिए। ‘९५ प्रतिशत नेता कार्यकर्ता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेकोले पार्टी विभाजनतर्फ केन्द्रित भए माधव कमरेडको पक्षमा कति हुनुहोला, हामी सबैलाई थाह भएकै छ’ नेता बस्नेतले भने। कार्यक्रममा एमाले नेतृ तथा सांसद निरुदेवी पाल, युवा संघका अध्यक्ष बचन सिंह, उपाध्यक्ष क्षितिज थेबे लगायतको उपस्थिति रहेको थियो।  

मेन्याङ्वो ओली समूहको कार्यक्रममा  

नेकपा एमालेका नेता तथा पूर्व सांसद तिलकुुमार मेन्याङ्वो सहितका नेता एमाले (ओली समूह)ले आयोजना गरेको जिल्ला भेलामा उपस्थित भएका छन्। मेन्याङ्वो यसअघि प्रचण्ड–माधव समूहले नेतृत्व गरेका नेकपाका नेता थिए। नेकपा बन्दा उनलाइ केन्द्रीय सदस्य बनाइएको थियो। उनले युवा संघको जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टी मूल प्रवाहमा समाहित भएर नेकपा एमालेको राजनीति अघि बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा तथा संविधानसभा सदस्य सञ्चपाल मादेनको समेत उपस्थिति थियो। उनीहरु दुबै तत्कालिन नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य भएका थिए। पछि शेर्पा राज्यमन्त्री समेत भए।  

संविधानसभा सदस्य भूपेन्द्र थेबेलाई ओली समूहले नेकपा एमालेको जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी दिएको छ। नेता बस्नेतले भने थेबे नै नेकपा एमालेको आधिकारिक जिल्ला अध्यक्ष भएको दावी गरे। यसअघि नेपा एमालेको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष भने बलबहादुर साम्सोहाङ रहेका छन्। प्रदेश सांसद समेत रहेका साम्सोहाङ भने नेपाल पक्षीय मानिन्छन्।

प्रकाशित: २१ चैत्र २०७७ ०६:५४ शनिबार

योगेश भट्टराई पूर्वमन्त्री महेश बस्नते