राजनीति

कम्युनिस्ट एकता जोगाउन बृहत् गठबन्धन हुन्छ: नेता नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय समितिका नाममा गरेका एकपक्षीय निर्णय फिर्ता लिए आफूहरू विगतका सबै कुरा बिर्सन तयार रहेको बताएका छन्। पोखरामा बिहीबार कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता नेपालले बालुवाटारमा फागुन २८ मा बसेको बैठक विधानविपरीत भएको दाबी पनि गरे।

‘त्यो बैठक अवैधानिक थियो भनेर स्विकार्नु पर्‍यो,’ नेता नेपालले भने, ‘त्यो निर्णय खारेज गरी सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ को अवस्थामा उनी (ओली) फर्किन्छन् भने हामी पनि नयाँ ढंगले जान तयार छौं, पुराना कुरा बिर्सन तयार छौं।’ तर यो कुरा मान्न ओली तयार हुन्छन् जस्तो आफूलाई नलागेको नेता नेपालले बताए।  

नेता नेपालले ओलीले अहिले आफूलाई असुरक्षित महसुस गरिरहेको र त्यसको कारण प्रधानमन्त्री र पार्टी अध्यक्ष पद गुम्छ कि भन्ने रहेको बताए। उनले भने, ‘ओलीलाई अहिले देश र जनताको चिन्ता छैन, केवल आफ्नो अध्यक्ष र प्रधानमन्त्री पद जान्छ कि भन्ने चिन्तामात्र छ।’

नेता नेपालले ओली जाली नम्बर १ भएको टिप्पणी पनि गरे। ओलीले फागुन २८ गतेको बैठकमा आफूहरूलाई बोलाएको भनेर जाली कुरा गरेको नेपालको आरोप छ। नेपालले ओलीको पछाडि लाग्ने उनैबाट प्रशिक्षित मात्र भएकाले सही सुझाव दिनेहरूको अभाव रहेको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ओली अहिले पार्टी भत्काउन लागिपरेको आरोप पनि लगाए। त्यही भएर उनले विधि, विधान मिचेको बताउँदै नेपालले भने, ‘उनलाई कम्युनिस्ट पार्टी बनाउनु छैन। उनी कम्युनिस्ट पार्टीलाई ओली कम्पनीको रूपमा, सानो गुटको रूपमा चलाउन चाहन्छन्।’ तर आफूहरूले पार्टी सिध्याउन नदिने नेपालले बताए। उनले कम्युनिस्ट एकता जोगाउन पुष्पकमल दाहाल, मोहन वैद्य, मोहनविक्रम सिंहलगायतसँग बृहत् गठबन्धन गरेर अगाडि बढ्ने बताए। उनले ओलीलाई कम्युनिस्ट नभई अर्कै पार्टी बनाउन पनि सुझाव दिए।  

पार्टीको नाम फेर्नेबारे ओलीले छलफल सुरु गरेको आफूले जानकारी पाएको दाबी गर्दै नेपालले भने, ‘ओलीले जनता पार्टी बनाऊन्, समाजवादी पार्टी बनाऊन्, यो उनको कुरा हो। उनीसँग पछि लाग्नेहरू उनीसँगै सती जाउन्। तर हामी सती जानेवाला छैनौं किनकि यो पार्टीको जग हामीले बसाएका हौं।’

ओली स्वार्थीहरूको जमात र दलाल पुँजीवादीहरूको घेराभित्र रहेकाले उनले कम्युनिस्ट पार्टी चलाउनै नसक्ने जिकिर पनि नेपालले गरे। अहिले केहीले मन्त्री पद त केहीले नियुक्ति पाएकाले ओलीको भजन गाइरहेको भन्दै नेपालले थपे, ‘तर ती व्यक्तिहरू पनि पछुताउनुपर्नेछ। समाजले थुकेपछि, औंलो ठड्याएपछि ती न घरमा हुनेछन् न घाटमा नै।’ ओलीको जयजयकार गर्नेहरू पनि ओली प्रवृत्ति देश र जनताका लागि घातक भएको बुझेपछि मूलधारको कम्युनिस्ट पार्टीमा फर्कने उनले बताए।

नेता नेपालका अनुसार कम्युनिस्ट पार्टी सिध्याउने हिसाबले ओलीले पार्टी कब्जा गर्ने कोसिस गरिरहेका छन्। ओली आफ्नो पक्षमा नलाग्नेलाई एकएक गरेर कमजोर पार्ने ध्याउन्नमा लागेको नेपालको भनाइ थियो। नेता नेपालले ओलीका गलत निर्णय मान्न आफूहरू बाध्य नभएको बताए। उनले भने, ‘हामी निरीह छैनौं रु गलत निर्णय र प्रवृत्ति स्वीकार गर्दैनौं।’ ओली प्रवृत्तिको प्रतिकार गर्ने हिम्मत आफूसँग भएको बताउँदै नेपालले थपे, ‘हामीमा साहस छ, तागत र हिम्मत छ। ओलीका अवैध निर्णय मान्दैनौं।’  

ओलीले विधि, विधानविपरीत गरेका निर्णय निर्वाचन आयोग, सर्वोच्च अदालतलाई गुहारेर भए पनि खारेज गरेरै छाड्ने नेता नेपालले बताए। हिजो केशरजंग रायमाझीले दरबारमा बुझाउँदा पनि नसकिएको कम्युनिस्ट पार्टीलाई अहिले ओलीले सिध्याउन नसकने नेपालको भनाइ थियो।

नेपालले ओलीले कारबाही गर्दैमा नआत्तिन आफू पक्षका नेता–कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘म त आत्तिएको छैन, तपाईंहरू पनि नआत्तिनुस्, किनकी तपाईंहरूको पक्षमा हामी छौं।’ उनले गत चुनावमा आफू पक्षका नेतालाई गण्डकी प्रदेशमा ओलीका हनुमानहरूले किनारा लगाएको आरोप पनि लगाए। ‘अब पनि ओलीले हाम्रा मान्छेलाई टिकट दिँदैनन्,’ नेपालले भने, ‘ओलीको हातबाट टिकट पाउन उनको चरण स्पर्श गर्नुपर्छ, त्वं शरणम् गर्नुपर्छ, होइन भने टिकट दिँदैनन्। तर तपाईंहरू ढुृक्क हुनुस् हामी दिन्छौं टिकट, वडाको, नगरको, पालिकाको, जिल्ला समन्वय समिति, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा सबैमा हामी दिन्छौं टिकट।’

नेता नेपालले ओली प्रवृत्तिलाई परास्त गर्न आफूहरूले अब देशव्यापी समानान्तर कमिटी बनाउने जानकारी दिए। अब वडा, पालिका, जिल्ला, प्रदेशसम्म समानान्तर कमिटी बन्ने उनले बताए। महिला, दलित, युवा, आदिवासी, जनजाति, अनेरास्ववियुलगायतका समानान्तर कमिटी बन्ने उनले बताए।

प्रकाशित: २० चैत्र २०७७ ००:५६ शुक्रबार

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ट एकता बृहत् गठबन्धन