राजनीति

चर्को आलोचनापछि सूर्य थापाले हटाए प्रचण्डमाथि व्यंग्य गरेको पोष्ट

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा आफैंले लेखेको पोस्ट हटाएका छन्।

थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेकपा खारेजीको फैसला पुनरवलोकनको माग सर्वोच्चले सदर नहुने गरी बदर गरेको विषयमा प्रचण्डमाथि व्यंग्य गरेका थिए।

थापाले ट्वीटरमा लेखेका थिए, 'सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ ! निवेदक महोदयप्रति सहानुभूतिचाहिं छस् सम्हालिनुहोस र राजनीति गर्नुहोस ! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ ! आफैले भाँड्न चाहेको एकता कति प्यारो ?'

तर उक्त पोस्टप्रति निकै आलोचना हुन थालेपछि थापाले पोस्ट हटाएका हुन्। छोरा प्रकाशको निधन हुँदा रोएको तस्बिरसँग थापाले सर्वोच्चको फैसला जोडेर फोटो बनाएका थिए।

प्रकाशित: १९ चैत्र २०७७ १४:२६ बिहीबार

नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली