राजनीति

रेशम चौधरीलाई माफी दिनु हुँदैन : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्या काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी दिन नहुने बताएकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा समसामयिक विषयमा बोल्दै उनले सरकारलाई समर्थन दिलाउनका लागि टिकापुर हत्या काण्डको अभियोगमा सजाय पाइरहेका अभियुक्त रेशम चौधरीलाई माफी दिनु गलत हुने बताएकी छन्।

'एउटा दुई वर्षको नाबालकसहित गरिएका हत्या माफी लायक होइन' उनले भनिन्, 'अहिले पूर्व नेकपाको फुटपछि कुनै पनि दलको बहुमत छैन, त्यो बहुमत दिलाउन रेशम चौधरीलाई माफी दिनु गलत हुनेछ।' 

थारु समुदायको मुक्तिका लागि गरिएको आन्दोलनलाई हामी समर्थन गर्छौं तर नाबालकसहित गरिएको हत्यालाई हामीले कदापी साथ दिँदैनौं र दिनु पनि हुँदैन। रेशम चौधरीको मागलाई पूरा गर्न तर्फ लाग्नु मुर्खता हुने उनले बताइन्।

उनले अगाडि भनिन्, 'अहिलेपनि विभिन्न पक्षहरुबाट राजनीतिक मुद्दा भनेर यसलाई अगाडि बढाएको विचारलाई सहि मान्न सकिँदैन। रेशम चौधरीलाई माफी दिए कानून र न्यायको अवहेलना हुनेछ। अराजक र जघन्य अपराधका दोषीहरुलाई छाडिनु हुँदैन।'

प्रकाशित: १८ चैत्र २०७७ ०८:४५ बुधबार

रेशम चौधरी