राजनीति

लुम्बिनी प्रदेशः हिउँदे अधिवेशन चैत १८ गते

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही चैत १८ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चैत १८ गते दिउँसो १ बजे संसद बैठक बोलाइएको जानकारी दिए। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई गरेको थियो। सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले संसद बैठक आह्वान गरेका हुन्।  

लुम्बिनी प्रदेस सभाको वर्षे अधिवेशन सकिएको यही चैत १९ गते ६ महिना पुग्दैछ। यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका देउखुरी तोकिएपछि वर्षे अधिवेशन अन्त्य भएको थियो। अधिवेशन सकिएको ६ महिना नपुग्दै अर्को बैठक बोलाउनु पर्ने बाध्यकारी नियमकै कारण चैत १८ गते हिँउदे अधिवेशन बोलाइएको हो।  

पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुरुप यसपालीको अधिवेशन लामो समय नचल्ने बताइएको छ। केही विधेयकमा छलफल हुने बताइएपनि सरकारले सदनलाई खासै बिजनेस दिन सकेको छैन। बैठकमा दल विभाजन सम्बन्धइी सूचना प्रस्तुत गर्ने बताइएको छ। यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि एउटै दल भएका यि दुई पार्टी सर्वोच्चको आदेशसंगै फेरि दुईवटा दल बनेका छन्। प्रदेश सभामा माओवादी सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने बताइएको छ। सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले माओवादीका सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने संसद सचिवालयले जनाएको छ।  

गत असोजमा प्रदेशको राजधानी दाङ तोकिएपछि सरकारले प्रदेश सभा बैठक दाङमै गर्ने तयारी गरेको थियो। त्यसका लागि दाङको राप्ती प्राविधिक शिक्षालयमा तयारी अगाडी बढाइएको छ। तत्कालका लागि हिउँदे अधिवेशन त्यहाँ गर्न सम्भव नभएपनि वर्षे अधिवेशन भने दाङमै गर्ने गरी प्रदेश सरकारले तयारी अगाडी बढाएको छ।

प्रकाशित: १६ चैत्र २०७७ १३:३२ सोमबार

लुम्बिनी प्रदेश हिउँदे अधिवेशन