राजनीति

माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

फाइल तस्बिरः नागरिक

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए।  

उनकाअनुसार विगतमा नेकपा हुँदाको अवस्था र अहिलेको अवस्था फरक भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको हो। ‘हिजो जे कारणले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश गरिएको थियो। आज त्यसको औचित्य सकिएकाले सो प्रस्ताव फिर्ता लिने तयारी गरिएको हो,’ तिवारीले भने।

उनका अनुसार एमाले पक्षका सबै सांसदहरूले सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिनेछन्। ‘एक दुई दिनभित्रै प्रदेशसभामा पेश गरिएको अविश्वासको प्रस्ताव फिर्ता हलिन्छौं,’ उनले भने ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका सबै सांसदले सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिन्छौं।’  

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभाका ३७ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए। जसमध्ये १५ जना माओवादी केन्द्रका थिए। ५ जना सांसदहरूले पहिले नै प्रस्तावबाट हस्ताक्षर फिर्ता लिइसकेका छन्। बाँकी १७ जना एमालेका सांसदहरूले सामूहिक रुपमा लिने तयारी गरेका हुन्।  

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध फागुन ९ गते अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबुल भएको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव विधि विधान विपरित दर्ता भएका भन्दै सरकार पक्षले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो। प्रदेश सभामा अविश्वासको प्रस्ताव छलफल हुनु पर्ने भएपनि बारम्बार प्रदेशसभा बैठक स्थगित हुँदै आएको छ। अविश्वासको प्रस्तावकै विवादका कारण चैत २ गते बस्ने भनिएको बैठक अघिल्लो दिन नै अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

यसैबीच, बुधबार बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईले सात दिनभित्र अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन आफ्ना सांसदहरूलाई समय दिएका छन्। सत्तारुढ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले एमालेको संसदीय दलको बैठकले नेकपा हुँदा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने आफ्ना सांसदहरूलाई ७ दिन भित्र हस्ताक्षर फिर्ता लिएर दललाई जानकारी गराउन निर्देश गर्ने निर्णय गरिएको जानकारी दिए। उनकाअनुसार संसदीय दलको बैठकले नेकपा एमाले प्रदेश १ को संसदीय दलको विधान पारित गर्ने र १५ सदस्यीय संसदीय बोर्ड गठन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ११ चैत्र २०७७ ०८:०८ बुधबार

अविश्वासको प्रस्ताव शेरधन राई एमाले विवाद