राजनीति

पार्टी व्यवस्थापनकाे सय पूर्णाङ्कमा ओलीलाई जिरो र प्रचण्डलाई १० पनि दिन्न : बामदेव गौतम

फाइल तस्बिर।

नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी एकताका बेला आफू प्रधानमन्त्री भएको भए माओवादीले अघि सारेका सर्त अस्वीकार गर्ने र पार्टी एकता नहुने बताएका छन्। अखिल नेपाल किसान संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता गौतमले पार्टी एकताका बेला आफू प्रधानमन्त्री भएको भए पदबाट राजीनामा दिने तर माओवादी केन्द्रले अघि सारेका सर्त नमान्ने बताए।

‘म ०७५ जेठ २ गते गरेको सम्झौतामा सहमत थिएन। म भएको भए त्यसैबेला पार्टी एकता हुने थिएन। म प्रधामनमन्त्री भएको भए त्यसबेला मैले बरु राजीनामा दिन तयार छुँ, तपाईंहरुले ल्याएको सम्झौताको सर्तमा मेरो समर्थन छैन, अब तपाईंहरु निर्णय गर्नुहोस् भन्थेँ। उहाँहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिन बित्तिकै म संसद्को सदस्य मात्र रहेर बस्ने थिएँ,’ गौतमले भने।

पार्टी एकता अभियान सञ्चालन गरिरहेका नेता गौतमले ओली र प्रचण्डको पदको लागि भएको लडाइँका कारण पार्टी विभाजन भएको बताए। सुरुमा ओलीले प्रधानमन्त्रीको लागि माओवादीले अघि सारेका सबै सर्त मानेको तर पछि गएर कार्यान्वयन गर्न आनाकानी गरेपछि विवाद उत्पन्न भएको छ। बिचमा प्रचण्ड सम्झौताबाट पछि हटेर फेरि सम्झौता कार्यान्वयनका लागि लागेपछि संसद् विघटन र पार्टी विभाजन हुन पुगेको उनको भनाई छ।

‘प्रधानमन्त्रीको निम्ती सबै सम्झौता गर्ने केपी अनि त्यो सम्झौतालाईं सबै मैले छोडिदिएँ तपाईंहरु जे गर्नुछ गर्नुहोस् भन्ने प्रचण्ड। सबै कुरो त छोड्नुभयो उहाँले तर पछि गएर गुमेर कसरी प्राप्त कसरी प्राप्त गर्ने भन्ने उहाँको लडाईं, अब तिमीसँग केहीपनि छैन अधिकार किन दिन्छु मैले भन्ने ओली। त्यसैको वरिपरी हाम्रो संघर्ष चल्यो,’ उनले भने।

पार्टी एकताको पूर्व सन्ध्यामा ०७५ जेठ २ गते ओली र प्रचण्डबीच दुवै जनाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर, ४ मंसिर ०७६ मा बसेको सचिवालय बैठकमा बाँकी पुरै कार्यकाल ओलीलाई सरकारको नेतृत्व गर्न दिने र प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने सहमति भएको थियो।

अर्को प्रसंगमा नेता गौतले पार्टी व्यवस्थापनमा ओली र प्रचण्डमा खुबी रहेको समेत दाबी गरे। तलदेखि माथिल्लो संरचना निर्माणमा दुवै जना असफल रहेको उनको भनाई छ।  

'कमरेड केपी ओलीलाई पार्टी सदस्य कसरी निर्माण गर्नुपर्छ, कसरी संगठन गर्नुपर्छ, कमिटीहरु कसरी परिचालन गर्नुपर्छ, तल्लो कमिटी र माथिल्लो कमिटीलाई कसरी व्यवस्थित गर्नुपर्छ, पार्टीमा देखिने अन्तरविरोध समाधान गर्न के गर्नुपर्छ, कार्यकताको निर्माण र संरक्षण कसरी गर्नुपर्छ भन्ने सवालमा मैले आजसम्म गरेको अनुभवमा उहाँ पूर्ण रुपले असफल हुनुभयो,’ गौतमले भने, ‘संगठन व्यवस्थापनमा यदि मैले केपी ओलीलाई कति र प्रचण्डलाई कति नम्बर भनेर दिनुपर्ने हो भने ओलीलाई जिरो र प्रचण्डलाई १० नम्बर पनि सुहाएन।’

प्रकाशित: ६ चैत्र २०७७ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App