राजनीति

नेपाल पक्षको राष्ट्रिय भेलालाई सुर्य थापाको प्रश्न : रमिता कि गाईजात्रा ?

नेकपा एमालेका नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रश्न गरेका छन्। थापाले नेपाल पक्षको राष्ट्रिय भेला रमिता कि गाईजात्रा ? भनेर प्रश्न गरेका हुन्।

नेकपा नेता माधवकुमार नेपाल पक्षले यहिं चैत्र ४ र ५ गते सानेपास्थित हेरिटेज गार्डेनमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। उक्त भेलालाई थापाले आफ्नो निहित स्वार्थका लागि (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र भएको बताएका छन्। उनले आज आफ्नो फेसबुकमार्फत् भेलालाई प्रश्न गरेका छन्।  

उनले लेखेका छन्ः

शहरमा 'विधि र पद्धति'को

रमिता कि गाइजात्रा ?

नेकपा (एमाले)को नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला-

१. खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो !

२. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ ।

३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।

४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो ।  

५. पार्टीको सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही  व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।

६. यो 'विधि र पद्धति'को दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको  विभाजन ने हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनस् प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।

७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी  अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो ।  

८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात हो ।

९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको  अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो  ।

१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।  

११. चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनस् खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझौताको बन्धक बनाउने कुत्सित प्रयास हो ।

१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास  मात्र हो ।  

१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।

१४. यो आम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफुलाई सामेल नगरौ ।

१५. त्यसैले आउनुहोस-

विभाजन र  बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा९एमाले० र सूर्य चिन्हको पक्षमा स्पष्ट र  एकजुट भएर अघि बढौं !

अरू कसैको योवनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई  परास्त गरौं ११

प्रकाशित: ३ चैत्र २०७७ ०४:४० मंगलबार

नेपाल पक्ष राष्ट्रिय भेला सुर्य थापा