राजनीति

धुम्बाराही बैठकपछि बसेको नेपाल समूहको भेला सकियो, राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय

फाइल तस्बिर।

नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। साेमबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको छलफलपछि बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको भेलाले यसअघि नै निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला तोकिएकै मितिमा गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए।

उनकाअनुसार बानेश्वरको भेलामा नेता नेपालले धुम्बाराहीको बैठकमा भएको छलफलका बारेमा आफू पक्षीय नेताहरुलाई जानकारी दिएका छन्।  

धुम्बाराहीको बैठकमा ओली र नेपाल पक्षबीच पार्टीभित्र देखिएको विवाद समाधनका विषयमा छलफल भएपनि निष्कर्ष निकाल्न सकेको थिएन। बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेज हुनुपर्ने अडान राखेको थियो। तर, ओली सो विषयमा सहमत नभएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो।

फागुन २८ गतेको बैठकबाट ओली पक्षले आफू पक्षीय नेताहरुलाई जिम्मेवारी दिएर पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको थियो। सोही बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन समेत गरेको थियो।

प्रकाशित: २ चैत्र २०७७ १२:२२ सोमबार

नेपाल समूह एमाले विवाद