राजनीति

एमालेका दुवै पक्षबीचको छलफल जारी

तस्बिरः प्रधानमन्त्रीको सचिवालय।

करिब चार महिनापछि आज नेकपा एमालको शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि एमालेका दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष) बीच भेटवार्ता भएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठक पार्टीमा देखिएको विवाद मिलाउनमा केन्द्रीत रहनेछ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन्।

छलफलमा ओली पक्षका तर्फबाट ओलीसहित नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन्। यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त सहभागी छन्। बैठकमा झलनाथ खनाल भने उपस्थित छैनन्।

एमाले विभाजनको संघारमा रहेका बेला भएको भेटलाई चासोका साथ हेरिएको छ। 

यसअघि यी नेताहरुबीच कात्तिक तेस्रो सातातिर भेट भएको थियो।

प्रकाशित: २ चैत्र २०७७ ०६:१७ सोमबार

एमाले केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष