राजनीति

सर्वोच्चको आदेशपछि संसद् अनिर्णयको बन्दी बन्यो : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान संसद् अनिर्णयको बन्दी बनेको बताएका छन्। प्रेस युनियन खोटाङले शनिबार त्रि–धार्मिकस्थल हलेसी परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरे पनि हालसम्म संसद् चल्न नसक्दा अनिर्णयको बन्दी बन्न पुगेको बताएका हुन्। 

सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्रलाई ब्युँताएपछि मुलुकमा झनै जटिलता थपिएको डा. कोइरालाले बताएका छन्। ‘फागुन ११ गते संसद् पुनःस्थाना भयो। फागुन २३ गते संसद्को पहिलो बैठक राखियो। त्यो बैठकमा जुन दृश्य देखियो, त्यो दृश्यले संसद् अनिर्णयको बन्दी बन्यो भन्ने देखाउँछ। संसद् अनिर्णयको बन्दी बनिसकेपछि सरकारको औचित्य रहँदैन,’ डा. कोइरालाले भने, ‘सर्वोच्चको दोस्रो निर्णयले त झनै अप्ठ्यारो परिस्थिति सिर्जना गरिदियो, जटिलता थपिदियो। नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत स्थानमा फर्कनु भनिदियो। एउटै पार्टी बनेर अघि जाने हो भने निर्वाचन आयोगमा दल दर्ता गराउनु भन्यो। सर्वोच्चले आफ्नो निर्णय दियो तर निर्वाचन आयोग नै अनिर्णयको बन्दी बन्यो। आयोगले पहिल्यै निर्णय दिन सकेको भए सायद सर्वोच्चले यस्तो निर्णय गर्दैनथे होला।’  

डा. कोइरालाले मुलुकमा देखिएको वर्तमान समस्याको निकास निर्वाचन मात्र भएको दाबी गरेका छन्। निर्वाचन नभए देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल बढ्नसक्ने भएकाले सकेसम्म चाँडो निर्वाचनमा जानुपर्ने डा. कोइरालाको भनाइ छ। ‘अब देशलाई निकास दिन र संसद् चल्नका लागि हामीसित निर्वाचनबाहेक अर्को निकास छैन। निकासको निम्ति निर्वाचन चाहिन्छ। नत्र संसद चल्दैन। संसदमा हंगामा भइरहन्छ र देश अप्ठ्यारो परिस्थितिमा जान सक्छ। अप्ठ्यारो परिस्थितिमा देश जाँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल बढ्न सक्छ,’ कोइरालाले भने, ‘अवको निकासको बाटो भनेको निर्वाचन नै हो। तर, त्यो निर्वाचन बहुमतको सरकारले गर्न सक्दैन भन्ने नजिर बसिसक्यो। त्यसका लागि अल्पमतको सरकार आवश्यक छ। त्यतातिर कांग्रेसले पहल गर्नुपर्छ।’  

डा. कोइरालाले विप्लव र रेशम चौधरीलाई सत्ता साझेदारीको ‘माध्यम’ बनाइनु गलत भएको धारणा राखेका छन्। ‘बडा विचित्र छ यो देश। विप्लवलाई नेकपामा ल्याइयो, कति ठाउँमा त ताण्डव नृत्य देखाइयो। त्यो सही, रेशम चौधरी गलत भन्ने हुँदैन। विप्लव पनि गलत हो, रेशम चौधरी पनि गलत हो,’ कोइरालाले भने, ‘राजनीतिमा कसलाई ल्याउँदा देशको अभिष्ट पूरा हुन्छ त्यो महत्वपूर्ण कुरा हो। कसलाई ल्याउँदाखेरी देशलाई फाइदा हुन्छ भन्नेमा हाम्रो ध्यान गएको छैन।’  

नेकपा माओबादी केन्द्रले समर्थन फिर्ता नगरेसम्म वर्तमान सरकार कायम रहने उल्लेख गर्दै कोईरालाले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताए। कोइरालाले कांग्रेसको महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको जानकारी दिएका छन्।  

सरकारले देश चलाउने नैतिकता गुमायो : भुसाल  

यस्तै प्रतिनिधीसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले वर्तमान सरकारले देश चलाउने नैतिकता गुमाइसकेको बताएकी छिन्। केपी ओली नेतृत्वको सरकारले कुनै नियम कानुनको पालना नगरेको र संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्नेजस्ता अलोकतान्त्रिक निर्णय गरेकाले सरकार चलाउने नैतिकता  

गुमाएको बताइन्। सन्धिखर्कमा भएको नेपाल शिक्षक संघको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी भुसालले वर्तमान सरकारले देशलाई समृद्ध बनाउन नसक्ने बताइन्। भ्रष्टाचारी संरक्षण गर्ने र आफन्तलाई भरणपोषण गरेर समृद्धि हासिल हुन नसक्ने उनको भनाइ छ।  

अल्पमतको सरकारले अधिकार नहुँदानहुँदै मन्त्रीमण्डल विस्तार, संवैधानिक नियुक्ति गर्ने कार्य गरेकाले अधिनायकवादको गन्ध आएको उनको भनाइ थियो। प्रधानमन्त्रीले एकएक गरेर जनताको अधिकार खोस्दै गएको भन्दै उनले मिडिया विधेयक, मानवअधिकार विधेयक, सुरक्षा परिषद् विधेयकमार्फत अधिकारहरू कुन्ठित गर्ने, अनुसन्धान विभाग, राजस्व विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुले सरकारको नियत प्रष्ट हुने बताइन्।  

सरकार बनाउन कांग्रेसले संवाद थालेको भन्दै नेतृ भुसालले कांग्रेसलाई सरकारमा जान कुनै हतारो नभएको बताइन्। वर्तमान सरकारले संविधानविपरीत कार्यहरू गर्दै गएकाले भोलिका दिनहरूमा हुने निर्वाचन स्वच्छ ढंगले नहुनेमा शंका व्यक्त गरिन्। ‘कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन। प्रधानमन्त्री, मन्त्री बन्न कसरत गरिएको पनी होइन,उनले भनिन्, ‘वर्तमान सरकारले भविष्यमा गर्ने गतिविधि पनी शंकास्पद छन्, चुनाव पनि नामका मात्र हुनेछन्। त्यसैले कांग्रेसले सरकार बनाउन पहल थालेको छ।’

प्रकाशित: १ चैत्र २०७७ ०२:५७ आइतबार

सर्वोच्चको आदेश नेपाली कांग्रेस संसद्