राजनीति

ओलीका स्वच्छाचारी गतिविधिको उपचार कार्यकर्ताको परिचालनबाट दिन्छौं : भीम रावल

फाइल तस्बिर।

नेकपा एमाले (माधव नेपाल समूह) का नेता भीम रावलले शुक्रबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेलीले बोलाएको बैठक अवैध रहेकाे बताएका छन्। शनिबार काठमाडाैंमा बसेको नेपाल समूहको भेलापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय पार्टीको विधान र नियमावली विपरीत भएकाले आफूहरुले नमान्ने बताए।

ओलीले एउटा गुटको भेला बोलाएर हास्यास्पद निर्णय गरेको रावलको आरोप छ। ‘केपी ओलीले बोलाएको बैठक अवैध हो। अवैध बैठकबाट कसैलाई निकालेँ, कसैलाई राखेँ, कसैलाई मनोनयन गरेँ भन्नुको कुनै औचित्य छैन,’ उनले भने।

नेता रावलले आफूहरुलाई बैठकमा बारेमा कुनै जानकारी नदिइएको बताए। आफूहरु अनुपस्थित भएपछि बैठकमा बहुमत नपुनेको उनको दाबी छ। उनले हिजो स्वच्छाचारी ढङ्गले बैठक गरिएको र त्यस्ता गतिविधिविरुद्ध आफूहरुले कार्यकर्ताको परिचालन गरेर जवाफ दिने बताए।  

‘जुन केन्द्रीय बैठकमा हामीलाई खबरै गरिएको छैन, बैठकमा बहुमत नै पुगेको छैन। अब त्यो बैठकले फलानालाई निकाल्यो, फलानालाई कार्यविभाजनबाट हटायौं, हामीले राख्यौं भन्नु भनेको त स्वच्छाचारी ढङ्गले कानुन नमान्ने, विधि नमान्ने, पार्टी नमान्ने सिद्धान्त नमान्ने मैंले यस्तो गरेँ भन्ने। यस्तो खालको निर्लज्ज कामको उपचार पार्टी कार्यकर्ताको परिचालनबाट हामी दिन्छौं।  

यसअघि हिजो शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई हटाएर आफू पक्षीय नेतारुलाई जिम्मेवारी दिएको थियो। सोही बैठकले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत पनि गरेको थियो।

प्रकाशित: २९ फाल्गुन २०७७ १२:५१ शनिबार

भीम रावल नेकपा विभाजन नेकपा एमाले