राजनीति

लुम्बिनी प्रदेश : अल्पमतमा मुख्यमन्त्री पोखरेल

फाइल तस्बिर

सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि  लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा परेको छ । एमाले र माओवादी ब्युँतिएपछि प्रदेशको सत्ता समिकरण झिनो मतले संकटमा परेको हो ।  

यो प्रदेशमा एमालेका मात्रै सांसदको समर्थनले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार टिक्न सक्ने अवस्था छैन । सरकार टिकाउन पोखरेलाई ३ सांसदको आवश्यक छ ।सरकार टिकाउन नयाँ समीकरण बनाउनु पर्नेछ । यद्दपी नेकपा माओवादीका सांसदहरु सरकारलाइ समर्थन गरिरहने कि बाहिरीने भन्नेबारे निर्णय गरीसकेका छैनन ।  

सरकारमै माओवादी तर्फबाट दुइ मन्त्री छन । यसअघि नेकपा दुइ कित्तामा उभिँदा पार्टीका दुइ जना सांसदले कित्ता फेरवदल गरेका थिए । तर मओवादीबाट सांसद जितेका दुइ जना मन्त्रीले भने सरकार छोडेका थिएनन । उनीहरु आफनै खेमाबाट सरकारमा थिए । एमाले र माओवादी व्युतिएपछि  सरकार टिकाउन अब एमालेले तीन जना सांसद खोज्नुपर्ने छ ।

कुल ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशसभामा पार्टी एकीकृत रहदासम्म ६१ जना सांसद नेकपाका थिए । पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेका ४१ सांसद छन । बहुमतकालागि चाहिने संख्या ४४ हो ।  प्रदेशसभाका २० जना सांसद तत्कालीन माओवादी केन्द्रका छन् । केन्द्रको  एकजना सभामुख पदमा छन । उनको मताअधिकार हुदैन । केन्द्रकै एकजना सांसदको दुर्घटनामा मृत्यु भएपछि नेकपावाट चुनाव लडेर विजयी सांसद छन एक जना । ओली पक्षमा लागेका केन्द्रका अर्का एकजना सांसदले पनि मंगलबार सम्म माओवादीमा फकर्ने मन बनाइसकेका छैनन । जुन अंक गणितले माओवादी केन्द्रमा अहिले जम्मा १७ मत देखिन्छ । 

प्रदेश सभामा काँग्रेसका १९, जनता समाजवादीका ६ जना र जनमोर्चाको १ जना छन । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने एमालेले काँग्रेस या जसपाको साथ लिनुपर्ने हुन्छ  । तुलनात्मक रुपमा जसपासंग समिकरण गर्दा फाइदा हुने भएकाले त्यसकालागि औपचारिक अनौपचारिक रुपमा छलफल चलीरहेको एमालेकै एक जना सांसदले बताए ।  

भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अदालतको पछिल्लो निर्णयले प्रदेश सरकारलाइ झन सहज भएको प्रतिक्रिया दिए । प्रदेशको हकमा पूर्वमाओवादीहरुले सरकारलाइ नै साथ दिन सक्ने भन्दै उनीहरुले साथ  नदिएपनि  फरक नपर्ने बताए । ‘विश्वासको मत दिए ठिकै छ नदिए अर्को पार्टीलाइ सरकारमा ल्याइन्छ र त्यसकालागि तयारी भइरहेको छ’ सरकारका प्रबक्त समेत रहेका मन्त्री चौधरीले भने । उनले पनि घुमाउरो तरीकाले जसपालाइ साथमा लिएर जाने तयारी चलेको बताए ।  

जसपाकै सांसद सन्तोष पाण्डेले पनि सरकारमा जानेबारे एक चरण मुख्यमन्त्रीसंग बार्ता भएको बताए । पार्टीको केन्द्रिय रणनीति जे भएपनि प्रदेशमा एमालेलाइ समर्थन गर्न सक्ने संभावना बलियो भएको प्रतिक्रिया पाण्डेले दिए । तर जसपाकै संसदिय दलका नेता सहसराम यादव  र सांसद पाण्डेको भनाइ भने  बाझिएको छ । प्रदेश सरकारमा जानेबारे औपचारिक छलफल नभएको र पार्टीको केन्द्रिय नेतृत्वले लिने रणनीति अनुरुप नै प्रदेशमा पनी अगाडी बढ्ने जसपा संसदिय दलका नेता यादवले बताए । जुन पक्षसंग मिलेपनि आफुहरु निर्णायक हुने दावी यादवको छ ।  त्यसोत जसपाका नेताहरुले भने झै यो प्रदेशमा एमाले बाहेकको सत्ता समिकरण गर्ने हो भने पनि अंकगणीतीय हिसावले उसलाइ साथमा लिनुपर्ने बाध्यात्मक अवस्था छ ।  

कांग्रेस  पर्ख र हेरमा  

सत्ता समिकरणको बिषयमा काँग्रेस भने पर्ख र हेरको रणनीति मै छ । प्रदेश सभामा काँग्रेस संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले पार्टीको केन्द्रिय निर्णय अनुरुप नै प्रदेशमा पनि सत्ता समीकरणबारे निर्णय गरीने बताए । काँग्रेसलाइ बिगतमा भन्दा अहिले सत्ता गठबन्धनकालागि सहज भएको प्रतिक्रिया उनले दिए ।

 केन्द्रको निर्णय कुर्दै माओवादी

मन्त्रीमण्डलमा दुइजना सदस्य रहेको पूर्वमाओवादीले केन्द्रको निर्णय कुरेर बसेको छ । माओवादी कोटाका सामाजिक विकास मन्त्री सुदर्शन बरालले कानुनी,राजनीतिक र संगठनात्मक अवस्थामा केन्द्रले गर्ने निर्णय कुरेको प्रतिकृया दिए । केन्द्रले अख्तियार गर्ने रणनीति पहिलो प्राथमिकतामा रहेपनि प्रदेशका हकमा अनुकुलता हेरेर गठबन्धन हुन सक्ने घुमाउरो प्रतिक्रिया बरालले दिए ।  

एमालेका पन्थी फर्किए, माओवादीका न्यौपाने फर्किएनन्

नेकपा दुइ खेमामा बिभाजित हुँदा एमालेबाट निर्वाचित कपिलबस्तुका सांसद बिष्णु पन्थी प्रचण्ड–माधाव समुहमा लागेका थिए । तर सर्वोच्को पछिल्लो निर्णयपछि उनी एमालेमै फकर्ने भएका छन । ‘केन्द्रदेखि नै माधव नेपाल सहितका नेताहरु आफ्नै घरमा फकर्ने निर्णय नै मेरो पनि निर्णय हो’ पन्थीले नागरिकसंग भने ।  

नेकपा दुइ खेमामा बिभाजन हुँदा ओली पक्षमा लागेका माओवादी केन्द्रबाट निर्वाचित  रुपन्देहीका सांसद दधिराम न्यौपाने  भने माओवादीमा नर्फकने भएका छन । ‘सांसद हुनकालागि मात्रै राजनीति गरेको होइन । पद जाँदैमा केही हुन्न अव फेरी माओवादीमा फकर्ने कुरै आउदैन’ न्यौपानेले भने  ।  

 नेकपाबाट निर्वाचित सांसद खत्रीको पद के हुने ?

प्रदेश सभा सदस्य उत्तर कुमार ओलीको दुर्घटनामा परि दुई वर्ष अघि मुत्यु भएको थियो । उनि तत्किालन माओवादी केन्द्रको तर्फवाट प्रत्यक्षतर्फ दाङ प्रदेश सभा ३ ख वाट निर्वाचित भएका थिए । उनको निधन पछि सो क्षेत्रबाट उनकै श्रमिती विमला कुमारी खत्री ओली नेकपावाट चुनाव लडेर विजयी भईन् ।  निर्वाचन आयोगले अहिले उनि विजयी भएको पार्टि नेकपा नरहेको फैसला गरेको छ । जसका कारण प्रदेश सांसद बिमलाको पद माथी पनि संवैधानिक संकट पैदा भएको छ ।  

प्रकाशित: २५ फाल्गुन २०७७ १३:५८ मंगलबार

सरकार अल्पमतमा