राजनीति

राजनीतिक रुपान्तरणमा महिलाको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताएका छन्।  

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले संविधानले महिलाहरूलाई समान अधिकार दिएको र सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको बताए।  

दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तराष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको बताए। उनले महिलाहरूद्वारा सञ्चालित उद्दमहरूको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको उनको भनाई छ।  

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे। नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन्। महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनको भनाई छ।

 

प्रकाशित: २४ फाल्गुन २०७७ १०:३० सोमबार

उपराष्ट्रपति