राजनीति

अर्थमन्त्रीले जनतालाई धम्काएर औधोगिक क्षेत्रको शिलान्यास गरे : नेता खाँण

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर क्षेत्रका जनतालाई दमन गरेर अर्थमन्त्रीले औधोगिक क्षेत्रको शिलान्यास गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । जबरजस्ती डर धम्की देखाएर गरीएको विकासको औचित्य नरहेको भन्दै नेता खाँणले गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् । आफू कडा सुरक्षा घेरामा बसेर जनतालाई लाठी बर्साउने अधिकार अर्थमन्त्रीलाई नभएको भन्दै उनले जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले प्रेस विज्ञप्ती जारी गर्दै मौतिपुर क्षेत्रमा लामो समयदेखि बासोबास गरेका स्थानीयको मागलाई तत्काल सम्बोधन गनुपर्नेमा जोड दिएका छन् । ‘जनतालाई लालपुर्जा उपलब्ध गराउनु पर्नेमा उल्टै घरबारविहीन बनाउने अनि लाठी पनि बर्साउने ? जनतामाथि भएको यस्तो दमनको हामी घोर भ्रत्सना गर्दछौ’ नेता खाँणले भने ।  

नेकपाको प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले पनि अर्थमन्त्री बिष्णु पौडेलले जनतामाथि लाठी बर्साएर औधोगिक करिडोरको शिलान्यास गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार मोतिपुर औधोगिक क्षेत्रको शिलान्यास कार्यक्रमको विरोधमा उत्रेका स्थानीयमाथि दमन गरीएको भन्दै नेता भुसालले त्यसको विरोध गरेका हुन् । स्थानीयको चर्को विरोधका बीच औधोगिक क्षेत्रको शुक्रबार अर्थमन्त्री बिष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले कडा सुरक्षा घेराभित्र बसेर शिलान्यास गरेका थिए ।  

केवल जग्गा दलालीको वातावरण बनाउन स्थानीयको माग सम्बोधन नै नगरी ढल्नै लागेको सरकारका दुई मन्त्रीले शिलान्यास गरेको आरोप नेता भुसालले लगाएका छन् । रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित सांसद भुसालले प्रेस बिज्ञप्ती जारी गर्दै स्थानीयमाथि लाठी बर्साएर गरीएको दमनको हिसाव किताव हुने पनि बताएका छन् । ‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीयको मागको सम्बोधन गरेर औधोगिक क्षेत्रको काम अगाडी बढाउन गरीएको सहमति तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले कायरतापूर्वक नागरिकमाथि दमनको नाङ्गो नाँच नाचेका छन् । त्यसको हिसाब किताब हुने नै छ’ प्रेस बिज्ञप्तीमा भनिएको छ । आफ्नो अधिकार रक्षाका लागि उभिएका निहत्था नागरिकमाथि गरेको दमन, अपमान र घाइते बनाउने अपराधीहरुलाई जनताको परीक्षणमा खडा गरीने पनि विज्ञप्तीमा उल्लेख छ । नेता भुसालले आफू जनताको पक्षमा रहेको भन्दै न्याय दिलाएरै छाड्ने बताए ।

बुटवल उपमहानगरपालिका सियारी र सुद्धोधन गाउँपालिका क्षेत्रभित्र पर्ने तिनाउ नदी उकास क्षेत्रसहितको करिब १  हजार बिगाहमा मोतिपुर औधोगिक क्षेत्र निर्माणको आयोजना अघि बढेको छ । त्यसका लागि २०७३ सालमा ८१३ बिगाह जग्गा सरकारले अधिग्रहण गरेको थियो । त्यसमध्ये २ सय ५० बिगाह जमिन स्थानीयले वर्षौदेखि जोतभोग गर्दै आएको जग्गा हो । औधोगिक क्षेत्रमा ३ हजार घर पनि पर्ने दावी स्थानीयको छ । जग्गा अधिग्रहण गर्ने चर्चा चलेपछि स्थानीयले ४ वर्ष अघि नै संघर्ष समिति बनाएर आफ्ना माग सम्बोधनका लागि दवाव दिएका थिए । स्थानीयले बस्ती  क्षेत्र, सकुल, मठमन्दिरको जग्गा छोडेर बाँकीमा औधोगिक क्षेत्र निर्माण गर्न माग गर्दै आएका छन् । 

तर स्थानीयका मागको सम्बोधन नै नगरी शुक्रबार अर्थमन्त्रीले जबरजस्ती शिलान्यास गरे । आफ्ना माग सम्बोधन नै नगरीएपछि बिरोधमा उत्रेका स्थानीयले अर्थमन्त्री पौडेललाई मञ्चबाट बोल्दा बोल्दै भाग्न बाध्य पारेका थिए । सो क्रममा स्थानीय र प्रहरी बीच झडप पनि भयो । प्रहरी र प्रदर्शनकारी दुवै तर्फ केही व्यक्ति सामान्य घाइते  भएका छन् ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०६:५२ शनिबार

नेपाली कांग्रेस अर्थमन्त्री औधोगिक क्षेत्र