राजनीति

कांग्रेस सरकारमा जानु हुँदैन : प्रकाशमान सिंह

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन्। सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले कांग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। 

नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि कांग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाव व्यक्त गरे। उनले पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए।

उनले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए। 

फरक प्रसङ्गमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठूलो लगानी रहेको हुँदा कार्यकर्ताले विश्वास गर्‍यो भने सभापतिका लागि योग्य रहेको प्रष्ट पारे। उनी पतरौता नगरपालिका–९ कुडवा निवासी स्व रामनारयण यादवको श्रद्धाञ्जलि सभामा भाग लिनका लागि बारा अएका हुन्।

प्रकाशित: २१ फाल्गुन २०७७ ०७:२५ शुक्रबार

नेपाली कांग्रेस प्रकाशमान सिंह