राजनीति

असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन कांग्रेस तयार: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले अहिले देश असहज अवस्थामा पुगिसकेकाले आवश्यकताअनुसार नेपाली कांग्रेस निकास दिन तयार रहेको बताए ।  

उनले दुईतिहाइ जनताको मत पाएर पनि कम्युनिस्टले सत्ता सञ्चालन गर्न नसकी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि ग्रहण लगाउन कुनै कसर बाँकी नराखेको टिप्पणी गर्दै भने, ‘यस्तो अवस्थाबाट मुलुकलाई निकास दिन नेपाली कांग्रेसको आवश्यकता र भूमिका देखियो भने त्यसका लागि कांग्रेस तयार छ ।’

सत्ता सञ्चालन कसरी गर्ने भन्ने विषयमा नेकपाभित्रको आन्तरिक विवादका कारण सिंगो मुलुक नै अनिर्णयको बन्दी बन्न पुगेको र राजनीतिक अस्थिरतातर्फ धकेलिएको बताउँदै सभापति देउवाले संघीय गणतन्त्र जोगाउन कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे । सनातन हिन्दु धर्मसहित सम्पूर्ण धर्म मान्ने समुदायको रक्षार्थ नेपाली कांग्रेस लागि परेको हुँदा नेपाललाई शान्ति एवं अहिंसाको मुलुक बनाउनेतर्फ सधैं आफनो भूमिका रहिरहने उनले बताए ।  

नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले सनातन हिन्दु धर्मसहित सबै धर्म मान्नेहरूको धार्मिक स्वतन्त्रताको पक्षमा कांग्रेस रहेको बताए । महायज्ञ २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित: २० फाल्गुन २०७७ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App