राजनीति

पश्चाताप गरेर आए ओली समूहसँग सहकार्य गर्न तयार छौं : माधव नेपाल

फाइल तस्बिर

नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पश्चाताप गरेर आए ओलीसमूहसँग सहकार्य गरेर अघि बढ्न सकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  नेता नेपालले पश्चाताप गरेर आए ओलीसमूहसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने बताएका हुन् ।  

नेता नेपालले तर, अहिलेसम्म प्रतिगमनकारीहरूले पश्चाताप गर्ने कुनै लक्षण नदेखाएको बताए । ‘साँचै  पश्चाताप  भएको छ त’, उनले भने‘पूर्वतिर केहि संकेत आएको छ ?’ प्रतिगमन गरेकोमा पश्चाताप गर्नुको साटो उल्टै प्रधानमन्त्रीले आफूलाई असुरक्षा भएको  भन्दै हिंडिरहेको  नेता नेपाको भनाइ छ  । उनले प्रधानमन्त्रीको सुरक्षाका लागि आफूहरू पहल गर्न तयार रहेको बताए ।  पश्चाताप गरेर नआएको खण्डमा प्रतिगमन विरुद्ध आन्दोलनमा उत्रेका अन्य दलहरूसँग मिलेर अघि बढ्ने नेता नेपालले स्पष्ट पारे । ‘हामीले कांग्रेस र जसपालाई भनेका छौं । तपाईहरू प्रस्ताव लिएर आउनुस् । हामी सहयोग गर्न तयार छौं’, उनले भने, ‘नभए हामी प्रस्ताव लिएर जान्छौं । तपाईहरू सहयोग गर्नुहोस् ।’ नेता नेपालले कसैको पक्षमा आफूहरू नकारात्मक नभएकाले छलफल गरेर अघि बढ्न तयार रहेको स्पष्ट पारे । 

नेता नेपालले एमसिसिलगाएतका विवादित विषयमा पनि छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखे। नेकपाको  आधिकारिकता विवादका सम्बन्धमा नेता नेपालले आफूहरूको समूह नै आधिकारिक भएको बताए । ‘हामीसँग बहुमत सदस्य छन् । हामी नै आधिकारिक नेकपा हौं’, नेता नेपालले थपे। 

आफूहरूले निर्वाचन आयोगमा पनि दावा प्रस्तुत गरिसकेको उनले बताए । बहुमत पुष्टि गर्न निर्वाचन आयोगलाई जे जे चाहिन्छ सबै उपलब्ध गराउन आफूहरू तयार रहेको उनले बताए । नेता नेपालले भने, ‘बहुमत भएको पुष्टि गर्न निर्वाचन आयोगमा केन्द्रिय सदस्यहरूको ब्लड टेष्ट, खकार टेष्ट, नागरिकता, लाइसेन्स के के चाहिन्छ सबै उपलब्ध गराउन हामी तयार छौं ।’ नेता नेपालले लोकतान्त्रीक व्यवस्थामा बहुमतले नै निर्णय गर्ने, अल्पमत बहुमतको अधिनमा रहने स्पष्ट पारे ।  

प्रकाशित: १८ फाल्गुन २०७७ ०८:०५ मंगलबार