राजनीति

सन्की प्रधानमन्त्रीलाई हटाउन नसके संसद्ले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्नेछ : योगेश भट्टराई

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गरेका छन्। प्रचण्ड–नेपाल निकट प्रेस संगठन नेपालले जनकपुरमा आइतबार आयोजना गरेको प्रदेश २ स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले ‘सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई प्रतिनिधिसभाले तह लगाउने’ जिकिर गरेका हुन्।

‘यदि प्रतिनिधिसभाले संविधानतः संविधानमाथि गलत हस्तक्षेप गर्ने, प्रतिमगनतिर जाने, असंवैधानिक कदम चाल्ने, मुलुकलाई एउटा राजनीतिक अस्थिरतातिर धकेल्ने, तीन करोड नेपाली जनताको भाग्य र भविष्यमाथि बन्चारो प्रहार गर्ने त्यस्ता एक जना व्यक्तिगत महत्वकांक्षाका व्यक्ति, सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने त्यो प्रतिनिधिसभाले आफ्नो मृत्यु पत्रमा सही गर्छ,’ उनले भने,‘मलाई विश्वास छ, यो प्रतिनिधिसभाले त्यो मृत्युपत्रमा हस्ताक्षर गर्ने छैन। आफ्नो मलामी आफैं जाने घातक निर्णय गर्ने छैन। त्यो ठाउँमा पुग्नुभन्दा पहिले नै प्रधानमन्त्रीले आफ्नो पद त्यागिसकेको हुनुपर्छ।’

सर्वोच्चले सरकारको निर्णय बदर गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ। तर, ओली लज्जास्पद रुपमा पदमा बसिरहेको उनले बताए।

उनले आफूहरु भएको पार्टी एकता पक्षमा भएको तर ओली विभाजनको पक्षमा रहेको दाबी समेत गरे। ‘केपी ओली जुन ठाउँमा उभिनुभएको छ, त्यो विभाजनको पक्ष हो,’ उनले भने,‘हामी जुन ठाउँमा छौं, त्यो एकताको पक्ष हो। हाम्रो एकता पार्टी एकता मात्र होइन, हाम्रो देश कम्युनिस्ट आन्दोलनको एकतासँग जोडिएको छ।’

सम्धोधनका क्रममा उनले प्रेस संगठन नेपालले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए। यस्तै, आफूहरुको पर्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको नेता भट्टराईको दाबी छ।

प्रकाशित: १६ फाल्गुन २०७७ १०:३५ आइतबार

योगेश भट्टराई प्रधानमन्त्री केपी शर्मा ओली