राजनीति

एमालेबाट जबज छोड्ने पहिलो नेता केपी ओली हुन् : प्रचण्ड

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव भएको बताएका छन्। ललितपुरको जावलाखेलमा शनिबार आयोजित प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलामा प्रचण्डले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताए।

‘फेरि केपी ओलीसँग समहति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रुपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन,’ उनले भने,‘यो विचारको विषय हो। र, यो विधि, पद्धतिको विषय हो। विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन।’

अर्को प्रसंगमा उनले जनताको बहुदलीय जनवाद छोड्ने तत्कालीन एमालेबाट पहिलो नेता केपी भएको दाबी समेत गरे। यस्तै, ओलीले आफूहरुलाई एमाले र अर्को पक्षलाई माओवादी भनेर भ्रम सिर्जना गर्न खोजेको उनको आरोप छ।

‘आजभोेलि केपी ओलीले ‘जबज हामी, एमाले हामी अर्को त माओवादी हो’ भनेर जो भ्रम दिन खोजिरहेका छन् योभन्दा ठूलो झुट, योभन्दा ठूलो बेइमानी, योभन्दा ठूलो अनैतिकता केही पनि हुन सक्दैन,’ प्रचण्डले भने,‘जनताको बहुदलीय जनवाद ‘ड्रप’ गर्ने पहिलो एमालेको कोही नेता छ भने त्यो खड्ग प्रसाद ओली अर्थात केपी ओली नै हो। त्यसको प्रमाण छ, राजनीतिक प्रतिवेदन, सबै जनसमितिका दस्तावेजमा केपी ओली र प्रचण्डका जेठ ३ गते भएका हस्ताक्षर छन्। यो चाहिँ सत्य हो।’

नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा शिक्षकरुहको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ। उनले आफू समेत शिक्षकबाट आन्दोलनमा होमिएको स्मरण गरे। उनले विगतमा भएका प्रायः सबै आन्दोलनमा शिक्षकहरुले ठूलो योगदान दिएको बताए।  

प्रकाशित: १५ फाल्गुन २०७७ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App